एजेन्सी – पेरिस सेन्ट जर्मेन(पिएसजी)का अर्जेन्टिनी स्टार लियोनेल मेस्सीले सन् २०२२-२३ को सिजनमा नयाँ रेकर्ड बनाएका छन्। फ्रेन्च लिग वान अन्तर्गतको खेलमा असिस्ट दिएसंगै मेस्सीले नयाँ रेकर्ड बनाएका हुन्। मेस्सीले आइतबार राति फ्रेन्च युवा स्टार किलियन एम्बाप्पेको गोलका लागि असिस्ट दिए।
सो असिस्ट संगै जारी सिजनमा मेस्सीको असिस्ट संख्या २० पुगेको छ। यससंगै मेस्सी सन् २०२२-२३को सिजनमा गोल र असिस्ट दुवैमा २० को आकडा पार गर्ने पहिलो खेलाडी बनेका छन्। युरोपका शिर्ष ५ लिगमा कुनै पनि खेलाडीले गोल र असिस्ट दुवैमा २० को आकडा पार गरेको अवस्था छैन।
मेस्सीले पिएसजीका लागि यस सिजन कुल ३९ खेल खेलेका छन्। उनले २० गोल र २० असिस्ट सहित पिएसजीका लागि ४० गोलको योगदान दिएका छन्। पिएसजीले आइतबार राति अक्सेरेमाथि २–१ को जित निकालेको थियो। पिएसजीको जितमा दुवै गोल एम्बाप्पेले गरेका थिए। एम्बाप्पेले पहिलो गोल आठौँ मिनेटमा मेस्सीको पासमा गर्न सफल भएका थिए।
आइतबारको जितसंगै पिएसजी फ्रेन्च लिग वान उपाधि नजिक पुगेको छ। पिएसजीले सिजनका ३६ खेलबाट ८४ अंक बनाएको छ। पिएसजी दोस्रो स्थानको लेन्स भन्दा ६ अंकले अगाडी छ। आगामी खेलमा जित वा बराबरी खेलेको खण्डमा पिएसजी च्याम्पियन बन्नेछ।