काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा रकम लेनदेनको अडियो सार्वजनिक भएपनि आफूले एक पैसा नलिएको काँग्रेस सभापति शेरबहादुर देउवाकी पत्नी आरजू राणाले दाबी गरेकी छिन् ।
टेलिभिजनको एक कार्यक्रममा बोल्दै उनले छोरा जयवीर देउवाको कसम खाँदै एक पैसा नलिएको दाबी गरेकी हुन् । नक्कली शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै नेपालीबाट करोडौं रुपैयाँँ संकलन गर्ने संगठित गिरोहको ठगी प्रकरणमा अहिले ‘हाईप्रोफाइल’ नै प्रहरीको हिरासतमा छन् ।
यो प्रकरणमा पूर्व उपप्रधानमन्त्री, पूर्वगृहन्त्रीदेखि गृहसचिव र तिनका छोराहरु पनि मुछिएपछि देश तरंगित बनेको छ ।
नक्कली शरणार्थी प्रकरणमा प्रहरीले पूर्वगृहन्त्री बालकृष्ण खाँणलाई यसअघि नै पक्राउ गरेको छ भने पूर्व उपप्रधानमन्त्रीसमेत रहेका टोपबहादुर रायमाझी फरार छन् ।
यसैबीच यो प्रकरणमा देउवा पत्नी आरजु राणा देउवा र पक्राउ परेका बालकृष्ण खाँणकी पत्नी मन्जु खाँणको संलग्नताको चर्चाले अनुसन्धानलाई थप चोटीलो बनाएको छ ।
उक्त अडियो ‘फेक’ भएको भन्दै राणाले प्रहरीको साईबर ब्युरोमा उजुरी नै दिएपछि प्रहरीले यस विषयमा थप छानबिन सुरु गरेको छ । तर, नागरिकस्तरबाट भने आरजु राणा र मन्जु खाँणलाई पनि नियन्त्रणमा लिएर अनुसन्धान थाल्नुपर्ने चर्को दबाब आईरहेको छ ।
कसम झुटो साबित भए के हुन्छ ?
यसो त झुट बोल्नु वा झुटो कसम खानु पछिल्ला दिन ‘ट्रेण्ड’ जस्तै बनेको छ । कुनै कुरामा कसैलाई शंका लाग्यो भने आफ्नो, सन्तानको वा अभिभावककको कसम खाने चलन नेपाली समाजमा नयाँ होइन । तर, गिता, बाइबल, कुरानजस्ता शास्त्रमा पनि ‘झुटो कसम खानु हत्या गर्नुभन्दा ठूलो पाप हो’ भनिएको छ ।
अझ त्यसैमाथि आफ्नो सन्तानलाई साक्षी राखेर खाएको कसम झुटो साबित भए त्यसले जिन्दगीभरी पिरोल्ने शास्त्रमा उल्लेख गरिएको छ । त्यस्तै, आफ्नो सन्तानको झुटो कसम खाँदा त्यसले भावी दिनमा सन्तानको फलिफाप नहुने र जिन्दगीभर पिरोलिरहने पनि शास्त्रमा भनिएको छ ।