गाली खाएपछि कोच मिलन नेवार मिडियामा, भन्छिन- गाली नै ताली हो, ‘गाला रातै’ गाइरहँदा मिलन अमात्य नेपाली पार्श्व गायनको शीर्ष स्थानमा थिइन् । उनको उदय त्यही मोडमा भएको थियो, जतिबेला पारिवारिक झमेलाका कारण अर्की गायिका अन्जु पन्त सुस्ताएकी थिइन् ।
भन्नेहरु भन्थे, ‘मिलनले अन्जुको ठाउँ खोस्यो ।’ मिलन भने कसैको ठाउँ ओगट्ने नभई आफ्नो पहिचान स्थापित गर्न लागिपरेको बताउँथिन् । जे भएपनि, त्यो उनको समय थियो । उनका लागि सरस्वती दाहिना थिइन्, पार्श्व गायनमा एकछत्र राज थियो ।
तर, सफलाको ग्राफ सधैं एकनाश उकालो लाग्दैन । बेलाबखत बक्ररेखामा दौडन्छ । चर्चा र सफलताको उत्कर्षमा पुग्दै गर्दा मिलन अमात्यको गति एकाएक धिमा भयो । उनको सांगीतिक जीवन धर्मरायो । अनि पालो आयो, मेलिना राईको ।
आसाममा जन्मिएकी मिलनको परिवार संगीतिक थियो । नेपाली गीत संगीत गाउन भने आफूलाई बाबाले प्रेरित गरेको सुनाउँछिन् । त्यसबेला आसाममा नेपाली गीतका एल्बमहरु कमै मात्र पाइन्थे, तर बाबाले टाढाटाढा पुगेर नेपाली गीतका एल्बमहरु ल्याएर सुन्न लगाएको उनलाई याद छ । त्यही क्रममा उनी ‘मिलन’ एल्बमको तयारीसहित नेपाल आइन् ।
एल्बमको तयारीको क्रममा मेन्सनसँग भेट भयो । मिलन एल्बम बजारमा आउँदासम्म दुई मन एक भइसकेको थियो । एल्बमका समावेश गीतहरु ‘जहिलेसम्म संसारमा’, ‘शिरीमा शिरी’ लगायतले राम्रै चर्चा पाए । मिलनले राम्रो ‘इन्ट्री’ मारिन् ।
चलचित्र नोटबुकको ‘गाला रातै’ र कालीको ‘बट स्लोली स्लोली’ गीतले उनलाई स्थापित नै गरायो । ‘यति छोटो समयमा नै सफल हुन्छु भन्ने सोचेको थिइनँ,’ उनी भन्छिन् । गायनसँगै मिलनले केही आफ्ना गीतको भिडियोमा मोडलिङ पनि गरेकी छन् । ‘सानैदेखि मोडलिङमा पनि रहर थियो । तर अरुको गीतमा मोडलिङ गर्ने योजना भने छैन ।’