१६ महिलालाई ‘प्रेम’मा पारेर ठग्ने झापाका नेत्रप्रसाद

समाचार

झापाको अर्जुनधारा– ८ का नेत्रप्रसाद गिरी, जो आफूलाई आयुषका नामले महिलाबीच परिचत गराउँथे । महिलाहरूसँग नजिकिने, प्रेम गरेको अभिनय गर्ने र विश्वासमा पारेर लाखौं रुपैयाँ ठगी गरेर फरार हुने यिनको पेशा बनेको थियो । नेत्रप्रसादको यस्तो हर्कतबाट धेरै परिवार छिन्नभिन्न भए । धेरै महिलाहरू पीडित भए ।

यिनै नक्कली प्रेमी अर्थात् ठग अहिले विराटनगरबाट पक्राउ परेका छन् । नेत्रप्रसादबाट पीडित भएकामध्ये केही पीडितहरू हाम्रै कार्यालयमा आएर उनको धन्दाबारे खुलासा पनि गरेका थिए । उनी पक्राउ परेपछि पीडितहरूले न्याय पाउने अवस्था बनेको हो त ? झापाबाट टिभी जर्नलिष्ट युवराज आचार्य र मोरङबाट तारा आचार्यको सहयोगमा तयार पारिएको यो फलोअप रिपोर्ट (हेर्नुहोस् भिडियो) :

महिलाहरूलाई प्रेमजालमा पारेपछि रकम ठगी गरेर बेपत्ता हुने बानी परेका झापा अर्जुनधारा नगरपालिका–८ हात्तीकिल्लाका नेत्रप्रसाद गिरी (आयुश) पक्राउ परेका छन् ।

विवाह गर्छु भन्नेसम्मको आश्वासन दिएर झण्डै १६ जना महिलाहरूको करोडौँ ठगी गरेको आरोप गिरीमाथि छ । उनै गिरीलाई गत सोमबार मोरङ प्रहरीले विराटनगरबाट पक्राउ गरेको हो । लामो समय भारतमा लुकेर बसेको आशंका गरिएका गिरी त्यसदिन विराटनगरमा रहेको सुचनापछि पीडितहरूले उनलाई पछ्याएका थिए ।

त्यसक्रममा गिरीले उल्टै पीडितहरूलाई अभद्र व्यवहार गरे । गिरी र पीडितबीच झगडा नै परेको थियो । त्यसपछि प्रहरीले अभद्र व्यवहार गरेको कसूरमा गिरीलाई पक्राउ गरेको हो । प्रहरीले पाँच दिनको म्याद थपेर अनुसन्धान गरिरहेको छ ।

प्रहरीका अनुसार हालसम्म कसैले पनि गिरीविरुद्ध ठगीसम्बन्धी जाहेरी दर्ता गराएको छैन् । पीडितले जाहेरी दिए ठगी मुद्धा दर्ता गरेर अनुसन्धान गर्ने प्रहरीले जनाएको छ । यता पीडितहरू पनि जाहेरी दिने तयारीमा रहेको बुझिएको छ । यसअघि कार्यक्रम सिधा कुरा जनतासँगको ९५४ औँ श्रृखंलामा गिरीको ठगी धन्दाको पर्दाफास गरेका थियौँ ।

दुई पीडित महिला हाम्रो कार्यालयमै आएर उनीबाट ठगीमा परेको गुनासो गरेका थिए । त्यसमध्ये झापा मेचीनगरकी एक पीडितबाट गिरीले झण्डै ८० लाख बढी रकम ठगी गरेका छन् । गिरीले उनलाई विवाह नै गर्छु भन्नेसम्मको आश्वासन दिएका थिए । गिरीले प्रेमको नाटक गरेर भावनामाथि खेलवाड गरेको गुनासो उनको थियो ।

त्यस्तै सुनसरीस्थित रामदुनी नगरपालिकाकी अर्की पीडितले पनि गिरीसँगको जग्गा कारोवारमा ठगिएको गुनासो गरेकी थिइन् । उनलाई काठमाडौँ भएको आफ्नो जग्गा विक्री गर्ने भन्दै उनीबाट ३६ लाख रुपैया लिएर फरार भएका थिए ।

झापाकै अर्को एक पीडित परिवार

यिनी हुन् झापा दमककी निशा बोहोरा । करिब ३० लाख नगद र १० तोला सुन लिएर यीनै निशा नेत्रप्रसाद गिरीसँग फरार भएपछि उनका श्रीमान इन्द्रकुमार चापागाईले आफ्नो परिवार विचल्लीमा परेको गुनासो गरेका छन् ।

श्रीमती, पाँच बर्षको छोरा र बुढी भएकी आमालाई खुशि राख्न दिनरात नभनी कमाएको पैसा लिएर २०७७ साल कात्तिक २३ गते गिरीसँगै भागेको चापागाईको भनाई छ ।

उनकी श्रीमती सानिमा विकास बैँकमा रहेको २३ लाख ८० हजार, १० तोला सुन र स्थानीयको ५ लाख लिएर गिरीसँगै फरार भएकी थिइन् । यता चापागाई भने आफ्नो सम्पत्ति फिर्ता पाउनु पर्ने माग गर्दै कानूनी लडाईमा छन् ।

चोरीका गाडीको कारोबारमा समेत संलग्न

गिरीले भारतबाट सवारीसाधन ल्याएर नेपालमा नक्कली कागजपत्र बनाउँदै बिक्री गर्ने गरेको पीडितहरूले बताएका छन् । पीडितहरूका अनुसार झापाको बिर्तामोडका एकजना व्यवसायीसँगको मिलेमतोमा नक्कली कागजपत्र बनाउने गरेका छन् ।

गिरीले भारतबाट गाडी नेपाल ल्याउँछन् । नेपालमा रहेका उनका साझेदारले यातायात व्यवस्था कार्यालय इटहरीका कर्मचारीसँगको मिलेमतोमा नक्कली ढड्डा तयार गर्ने गरेका छन् । ढड्डा नै नक्कली बनाएर गाडीका सबै कागजपत्र सक्कली जस्तै बनाइएको हुन्छ । त्यही कागजपत्रका आधारमा उनले नेपालमा रहेका ग्राहकलाई बजारमूल्यभन्दा सस्तोमा गाडी बिक्री गर्दै आएको बताइएको छ ।

नक्कली नागरिकता पनि

वास्तविक नाम नेत्रप्रसाद गिरी भए पनि उनले आयुश गिरी नामको अर्काे नागरिकता पनि बनाएका छन् । घैलाडुब्बा गाविस–१ ठेगानामा गिरीले अर्काे नक्कली नागरिकता बनाएको तथ्य हामीले यसअघि पनि देखाएका थियौँ । जुन नागरिकता जिल्ला प्रशासन कार्यालयको रेकर्डमा भने भेटिएको छैन । यसरी किर्ते नागरिकता प्राप्त गरी उनले वर्षौदेखि ठगी धन्दा चलाइरहेका छन् ।

गिरीले भारतीय आधार कार्डसमेत बनाएका छन् । आधार कार्डमा भने उनको नाम राजीव गिरी रहेको छ । आधार कार्ड भएका कारण उनी भारतीय गाडी पटके काटेर नेपाल ल्याउन सफल बन्दै आएको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *