घरमै बसी बसी यसरी कमाउन सकिन्छ फेसबुकबाट पैसा

समाचार

अहिलेको युगमा फेसबुक नचलाउने र फेसबुक खाता नभएका त सायद कम नै होलान् । तर के तपाईँलाई थाहा छ ? फेसबुकबाट मानिसहरूले लाखौँ रुपैयाँ आम्दानी गरिरहेका छन् ।

फेसबुकले तोकेको निश्चित मापदण्ड पूरा गरी जो कोहीले पनि यसबाट आम्दानी गर्न सक्छन्, जसका लागि हाम्रो फेसबुक पेजले फेसबुक मोनिटाइजेसन पोलिसीको पालना गरेको र मोनिटाइजेसन योग्य देशबाट सञ्चालित हुनुपर्दछ । फेसबुकमा रहेका आम्दानीका तरिकाहरू के–के हुन् त ? फेसबुकमा आम्दानी गर्ने थुप्रै तरिकाहरं छन् तर फेसबुकले आधिकारिकरूपमा दिएको सुविधाहरूका बारेमा चर्चा गर्नुपर्दा केही निकै सहज तरिकाहरू छन् ।

१. इन-स्ट्रिम विज्ञापन : इन-स्ट्रिम विज्ञापन फोटो वा भिडियो विज्ञापनहरू हुन् जुन तपाईँका भिडियोहरूकाे सुरु, बीच अथवा भिडियो सकिएपछि प्ले हुन्छन् जसले तपाईँलाई फेसबुकमा पैसा कमाउन मद्दत गर्न सक्छ । यो फिचर प्रयोग गर्नका लागि तपाईँको पेजमा कम्तीमा १० हजार फलोवर अनि पछिल्लो ६० दिनमा ६ लाख मिनेट वाचटाइम पुगेको अर्थात् ६ लाख मिनेटसम्म तपाईँको भिडियोहरू हेरिएको हुनुपर्दछ र कम्तीमा पनि पाँच वटा भिडियो अपलोड भएको हुनुपर्दछ । साथै पेजले कुनै पनि पोलिसी उल्लङ्घन गरेको हुनुहुँदैन र योग्य देशबाट सञ्चालित पेज हुनुपर्छ ।

२. स्टार बोनस : यो फिचरबाट आम्दानी गर्नका लागि कुनै मापदण्ड दिइएको हुँदैन र फेसबुक आफैँले तपाईँलाई आमन्त्रण पठाउने गर्दछ । यो फिचरमा तपाईँको भिडियो अथवा लाइभ भिडियोमा तपाईँका फलोवरहरूले तपाईँलाई स्टार पठाउनुपर्ने हुन्छ र त्यही पठाएको स्टारबात तपाईँले भुक्तानी प्राप्त गर्नुहुनेछ, तपाईँलाई पठाइएको १०० स्टार बराबर लगभग १ डलरको भुक्तानी पाइन्छ । यसका लागि पनि तपाईँको पेजले कुनै पनि पोलिसी उल्लङ्घन गरेको हुनुहुँदैन र योग्य देशबाट सञ्चालित पेज हुनुपर्छ ।

३. सब्सक्राइब फिचर : यो फिचर पनि स्टार फिचर जस्तै फेसबुक आफैँले आमन्त्रित गर्ने फिचर हो जसमा तपाईँका फलोवरहरूले तपाईँको पेजकाे सदस्यता लिनुपर्ने हुन्छ जुन सशुल्क सदस्यता हुने गर्दछ र यो सदस्यता लिए बमोजिम ती सदस्यहरूले तपाईँकाे प्रिमियम कन्टेन्टहरू हेर्न र प्रतिक्रिया दिन पाउँछन् । यसमा तपाईँलाई फेसबुकले दिएको दायराभित्रको रकम सेट गर्न मिल्छ जुन १० डलरदेखि सुरु हुन्छ ।

४. रिल बोनस : यो फिचर केबल फेसबुकमा मात्र नभएर इन्स्टाग्राममा पनि छ जसमा तपाईँलाई फेसबुकले नै यो फिचरका लागि आमन्त्रित गर्ने गर्छ । एक पटक आमन्त्रित भएपछि तपाईँले भुक्तानी पाउने बैंक खाता दर्ता गरिसके पनि आफ्नो फेसबुक वा इन्स्टाग्राम खातामा रिल, भिडियोहरू अपलोड गर्नुपर्ने हुन्छ । यसरी अपलोड भएका भिडियोहरूमा तपाईँकाे आफ्नै अधिकार हुनुपर्छ, साथै अरू कसैले वा तपाईँ आफैँले पनि पहिले नै अपलोड गरेको रिल, भिडियाे हुनुहुँदैन । यो फिचरमा टिकटकमा जस्तै साना–साना (छाेटाे समयकाे) भिडियो अपलोड हुने गर्छ ।

फेसबुक आम्दानी गर्नका लागि योग्य देशहरू कुन कुन हुन् त ? फेसबुकले यी देशहरूलाई मोनिटाइज योग्य देशको सूचीमा राखेको छ :- अर्जेन्टिना, अस्ट्रेलिया, अस्ट्रिया, बङ्गलादेश, बेल्जियम, बोलिभिया, ब्राजिल, क्यानडा, चिली, कोलम्बिया, डेनमार्क, डोमिनिकन गणतन्त्र ,इक्वेडर, इजिप्ट, एल साल्भाडोर, फ्रान्स, जर्मनी, ग्वाटेमाला, होन्डुरस, हङकङ, भारत, इन्डोनेसिया, इराक, आयरल्यान्ड, इजरायल, इटाली, जापान, जोर्डन, मलेसिया, मेक्सिको, मोरक्को, न्युजिल्यान्ड, नर्वे, पेरु, पोल्यान्ड, रोमानिया, सिङ्गापुर, दक्षिण अफ्रिका, दक्षिण कोरिया, स्पेन, स्विडेन, स्विट्जरल्यान्ड, ताइवान, थाइल्यान्ड, नेदरल्यान्ड्स, फिलिपिन्स, टर्की, साउदी अरेबिया, युक्रेन, संयुक्त अरब इमिरेट्स (यूएई), बेलायत, संयुक्त राज्य अमेरिका ।

कुन भाषाहरू मोनिटाइजका लागि योग्य छन् ?
माेनिटाइजका लागि योग्य भाषाहरूमा अरबी, असमिया, बङ्गाली, भोजपुरी, डच, अङ्ग्रेजी, फ्रान्सेली, जर्मन, गुजराती, हिब्रू, हिन्दी, इटालियन, इन्डोनेसियाली, जापानी, कन्नड, खमेर, कोरियाली, मलय, मलयालम, मन्डारिन, मराठी, उडिया (ओडिया), पोलिश, पोर्चुगिज, पन्जाबी, रोमानियन, रुसी, स्पेनिस, स्विडेनी, तागालोग, तमिल, तेलुगु, थाई, टर्की, युक्रेनी, उर्दू, भियतनामी छन् ।

के नेपालबाट फेसबुक मोनिटाइज गर्न मिल्छ ?
यसकाे छोटो उत्तर– ‘मिल्दैन ।’ फेसबुकले नेपाललाई अहिलेसम्म मोनिटाइजयोग्य सूचीमा समावेश गरेको छैन, ‘लाइभ गेमर’ हरूका लागि भने मोनिटाइज गरेर कमाउन मिल्ने बनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *