नुवाकोटमा काङ्ग्रेस नेताको हत्या आशंका ! छानबिन गर्न प्रशासनसँग माग

समाचार

५ दिनदेखि बेपत्ता रहेका नेपाली कांग्रेस नुवाकोटका स्थानीय नेता कृष्णमान घलेको शव शंकास्पद रुपमा फेला परेपछि कांग्रेसले उनको मृत्युबारे सत्यतथ्यसहित छानबिनको माग गरेको छ ।

उनको मृत्युको सत्यतथ्य बाहिर आउनुपर्ने भन्दै सोमबार प्रमुख जिल्ला अधिकारी किरण थापालाई जिल्ला कार्यसमितिका पदाधिकारीले मागपत्र बुझाएका हुन् ।

किस्पाङ गाउँपालिका ४ साल्मेका ६२ वर्षीय घलेको शव म्यागङ गाउँपालिका २ बुङताङ ग्युलमाने भीरमा रहस्यमय तरिकाले मृत अवस्थामा फेला परेकाले उक्त घटनालाई लिएर नेपाली कांग्रेस नुवाकोटले सत्यतथ्य छानबिन गरी मृत्युको कारण अविलम्ब पत्ता लगाउन माग गर्दै स्थानीय प्रशासनसँग माग गरेको उपसभापति राजु थापाले बताए ।

घटनास्थलमा खुकुरीको दाप, केही प्लास्टिक र उनी चढेको मोटरसाइकल सकुशल फेला परेकाले हत्याको आशंका रहेको कांग्रेस उपसभापति थापाले बताए । मृतक घलेको घटनाको सत्यतथ्य छानबिन गर्ने प्रतिबद्धता प्रमुख जिल्ला अधिकारी थापाले बताए ।

उनी विगत ४–५ दिनदेखि सम्पर्कविहीन थिए । उनको खोजीको क्रममा म्यागङ गाउँपालिका २ बुङताङस्थित ग्युलमाने भीरको बीचमा फेला परेकाले शव भीरमा अड्केर झिक्न समय लागेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं डीएसपी खगेन्द्र खड्काले बताए । उनको शव झिक्न सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीय खटिएका थिए । शव भीरमा ३ सय मिटर लामो भीरको बीचमा भेटिएको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *