युएई जाने टोलीमा सन्दीप नपरेपछि के भन्छन् कप्तान रोहित ?

समाचार

नेपाली राष्ट्रिय टोलीका कप्तान रोहितकुमार पौडेलले महत्वपूर्ण खेलाडी सन्दीप लामिछानेको स्थान अन्य स्पिनरले लिनुपर्ने बताएका छन् ।

बिहीवार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँगको भेटपछि पत्रकारसँग कुरा गर्दै कप्तान रोहितले युएईमा हुन लागेको आइसीसी विश्वकप लिग -२ श्रृंखलामा मुख्य लेग स्पिनर लामिछाने नहुने भएपछि टोलीका अन्य स्पिनरले जिम्मेवारी लिनुपर्ने बताएका हुन् ।

उनले सन्दीप टोलीको महत्वपूर्ण बलर भएको र घरेलु मैदानमा सम्पन्न सिरिजमा ४ खेलमा १३ विकेट लिँदा टोलीलाई सहज भएको बताए । सन्दीपको अनुपस्थितिमा टोलीलाई धेरै खाँचो पर्ने तर उनको स्थानलाई अन्य खेलाडीले लिनुपर्ने उनको भनाई थियो ।

नेपाली राष्ट्रिय क्रिकेट टिम शनिवार युएई भ्रमण गर्दैछ । युएई भ्रमणको क्रममा नेपालले आयोजक युएई र पपुवा न्युगिनीसँगै दुई खेलको क्रिकोणात्मक श्रृंखला खेल्ने तालिका रहेको छ ।

नाबालिक बलात्कारको आरोप लागेको सन्दीपलाई अदालतले विदेश जान रोक लगाएको छ । त्यसैले नेपाल क्रिकेट संघ (क्यान) ले सन्दीपलाई टिममा समावेश गरेको छैन । भ्रमणको क्रममा नेपालले युएईको भूमिमा चार खेल खेल्नेछ भने लगत्तै नेपाल फर्किएर थप उनै टोलीसँग थप चार खेल खेल्नेछ ।

युएई भ्रमण अन्तगर्तत नेपालले पहिलो खेल २७ तारिखमा पपुवान्युगिनिसँग खेल्नेछ भने दोस्रो खेल २ मार्चमा युएईसँग हुनेछ । यस्तै तेस्रो खेल ३ मार्चमा पपुवा न्युगिनीसँग पुन: हुनेछ भने ६ मार्चमा घरेलु टोली युएईसँग दोस्रो खेले खेलेर स्वदेश फकिर्नेछ ।

लिग–२ मा नेपाल २८ खेलबाट १२ मा जित र १४ मा हारसहित २६ अंकका साथ छैटौं स्थानमा छ । बाँकी रहेको ८ खेलमा कम्तिमा ५ खेल जितेमा नेपालको एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता कायम हुनेछ ।

नेपाली टोली
रोहितकुमार पौडेल (कप्तान), कुशल भुर्तेल, आसिफ शेख, ज्ञानेन्द्र मल्ल, कुशल मल्ल, दीपेन्द्र सिंह ऐरी, सन्दीप जोरा, सोमपाल कामी, करण केसी, ललित राजवंशी, गुलशन झा, भिम सार्की, आरिफ शेख, प्रतिश जि.सी र श्याम (मौसम) ढकाल ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *