सन्दीप टोलीसँगै युएई जान नपाउने

समाचार

क्रिकेटर सन्दीप लामिछाने आईसीसी लिग २ का लागि राष्ट्रिय टोलीसँगै युएई जान नपाउने भएका छन्। लामिछानेले विदेश यात्रामा लागेको प्रतिवन्ध फुकुवाका लागि बुधबार पनि सर्वोच्चमा निवेदन नदिएपछि सर्वोच्चले उनको पक्षमा आदेश दिए पनि जान ढिलो हुने भएको हो।

लामिछाने बिहीबार सर्वोच्च खुल्नासाथ निवेदन दिने तयारीमा छन्। उनका वकिल सरोजकृष्ण घिमिरेले बुधबार नभ्याइएकाले बिहीबार मात्रै अदालत जाने तयारीमा रहेको जानकारी दिए। बिहीबार सन्दीपको निवेदन दर्ता भए पनि शुक्रबार मात्रै पेशीमा चढ्ने छ। पेशीमा चढेपनि त्यही दिन सुनुवाइ हुन्छ भन्ने निश्चित हुँदैन। तर राष्ट्रिय टोलीका अन्य सदस्य भने शनिबार नै युएई प्रस्थान गर्ने तयारी छ। सोमबारदेखि लिग २ का बाँकी खेल सुरु हुँदैछ।

नेपालले पहिलो खेल सोमबार पपुवान्युगिनीसँग खेल्दैछ। सोही खेलमा सन्दीप उपलब्ध हुन् भनेर नेपाल क्रिकेट संघ क्यानले पनि राष्ट्रिय खेलकुद परिषदमा अपिल गरेको छ। सन्दीपमाथी विदेश जान लागेको प्रतिबन्ध फुकुवाका लागि पहल थालेको हो।

सन्दीप भर्खरै सम्पन्न भएको सिरिजका बेष्ट बलर हुन्। उनले ४ खेलमा १३ विकेट लिएका थिए। ब्याटिङमा विकल्प देखिए पनि बलिङ भने उनकै भरमा छ। तर लिग २ का विदेशमा हुने खेल सन्दीपबिनै खेल्नु पर्ने अवस्था आउने सम्भावना बढेको छ। तत्काल सुनुवाइ भएर सन्दीपमाथीको प्रतिवन्ध फुकुवा भएपनि सन्दीपले पहिलो खेल भने गुमाउने छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *