काठमाडौं । मैदानमा एकपछि अर्को उत्कृष्ट प्रदर्शन गरिरहेका नेपाली क्रिकेट टिमका सदस्य सन्दीप लामिछानेविरुद्ध अन्तर्राष्ट्रिय स्तरमा नकारात्मक सन्देश जाने गरी मिडिया प्रपोगाण्डा गरिएको भन्दै नेपाल क्रिकेट संघले दुःख व्यक्त गरेको छ । हिजो केही मिडियामा सन्दीप र स्कटल्यान्डका खेलाडीहरुको ‘नो ह्यान्डसेक’ लाई ‘ट्विस्ट’ गरेर गलत समाचार प्रकाशित गरिएको भन्दै क्यानका अधिकारीहरु दु:खी बनेका हुन् ।
स्रोतका अनुसार हिजो स्कटल्यान्ड र नेपालको म्याचभन्दा अगाडि सन्दीपसँग स्कटिस टिमका म्यानेजरको नेपालकै ड्रेसिङ रुममा करिब आधा घन्टा सौहार्द कुराकानी भएको थियो । उक्त कुराकानीमा म्यानेजरले आफ्नो टिमका एक वा दुई खेलाडीले म्याचपछि सन्दीपसँग जोडेर नेपाली मिडिया र सोसल मिडियामा आफूहरुमाथि लाञ्छना लगाइन सक्ने भन्दै चिन्ता व्यक्त गरेको सुनाएका थिए ।
म्यानेजरको भनाइ उद्वृत गर्दै स्रोतले भन्यो, ‘हामी नेपाली मिडियाको माहोल राम्ररी नियालिरहेका छैं । मुलधारका सञ्चारमाध्यम र केही सोसल मिडिया प्रयोगकर्ताले तपाईंविरुद्ध चलाइरहेको अभियानबारे हामीलाई जानकारी छ । तपाईंसँग हात मिलाएको तस्वीर बाहिर ल्याएर स्कटल्यान्डको बोर्डलाई समेत ट्याग गरी दुष्प्रचार गरिनसक्ने भन्दै हाम्रो टिमका एक–दुई खेलाडीले चिन्ता व्यक्त गरिरहेका छन् ।’
म्यानेजरको उक्त घुमाउरो सन्देशमा जवाफ दिँदै सन्दीपले ‘एउटा खेलाडीले पनि आफूसँग हात मिलाउन इन्कार गरे त्यो आफ्नो लागि अपमानजनक हुने बताए । बरु आफूले नै कसैसँग पनि ह्यान्डसेक नगर्ने अडान उनले लिएका थिए ।
सन्दीपले म्यानेजरलाई भनेका थिए, ‘तपाईंको टिमका एकजना खेलाडीलाई आपत्ति छ भने पनि म कसैसँग हात मिलाउँदिन ।’ सन्दीपले जे भनेका थिए, हिजो मैदानमा त्यही नै भयो । स्कटिस कप्तानले ह्यान्डसेकका लागि हात अघि बढाए पनि सन्दीपले हाँसेर टारेका थिए । कप्तानसँग सन्दीपले ह्यान्डसेक नगरेपछि अन्य खेलाडीहरुले पनि एप्रोच गरेनन् । तर, अन्तिममा रहेका एक खेलाडीले सन्दीपलाई हात बढाएका थिए । तर, सन्दीप उनीसँग पनि पन्छिए । सन्दीपले हात नमिलाउँदा ती खेलाडी अलमलमा परेको भिडियोमा देखिन्छ । यही घटनालाई नेपालका केही मिडियाले गलत तरिकाले चित्रण गरेर दुष्प्रचार गरेको क्यानका एक पदाधिकारीको गुनासो छ ।