घर भत्किएर सबैको मृत्यु हुँदा बाँच्न सफल भए यी परिवारमै एकमात्र नवजात शिशु !

अन्तर्राष्ट्रिय समाचार

टर्कीमा सोमबार बिहान उज्यालो नहुँदै आएको भूकम्पले अहिलेसम्म झन्डै १० हजार मानिसले ज्यान गुमाएका छन्। तीमध्ये २ हजार ५ सय जति मानिस छिमेकी मुलुक सिरियाका हुन्। भूकम्पको धक्काले उत्तरी सिरियामा पनि ठूलो क्षति भएको छ। अहिले पनि हजारौं मानिस सम्पर्कविहीन छन्। उद्धारकर्ताहरूले भूकम्पमा घर भत्किएर पुरिएकी एकजना नवजात शिशुलाई मंगलबार उद्धार गरेका छन्।

समाचार संस्था एएफपीका अनुसार विद्रोहीहरूको नियन्त्रणमा रहेको सिरियाको उत्तरी सहर जिन्देरिसमा भत्किएको एउटा घरको भग्नावशेषबाट ती शिशुको उद्धार गरिएको हो। ती नवजात शिशुको परिवार बस्ने पाँच तले घर भूकम्पले ढलेको थियो।

उद्धारकर्ताहरूले शिशुलाई जन्म दिएलगत्तै उनकी आमाको पनि भूकम्पमा परी मृत्यु भएको हुनसक्ने बताएका छन्। ती शिशुकी आमासँगै बुवा र चार जना दाइ-दिदीहरू पनि भूकम्पमा बितेका छन्।

उद्धारकर्ताले उनलाई सालनाल नकाटिएको अवस्थामा फेला पारेका थिए। उनलाई आफन्तहरूले तत्काल अफ्रिन सहरमा रहेको अस्पतालमा पुर्‍याएका थिए। अहिले उपचार भइरहेकी ती नवजात शिशुको स्वास्थ्य अवस्था स्थिर छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *