धेरै धन कमाउने सपना बोकेर पोर्चुगल गएका ५५ सय नेपाली अलपत्र ….

समाचार

काठमाडौं ।मनग्य पैसा कमाउने सपना बोकेर बागलुङका योगेन्द्र थापा क्रोसिया, रोमानिया, साइप्रस हुँदै युरोपेली मुलुक पोर्चुगल पुगे। थापा पोर्चुगल पुग्दा बीचबाटोमै राहदानी हरायो। जेनतेन पोर्चुगल त पुगे तर अहिले नेपाली राहदानी नहुँदा थापाले काम पाउन सकेका छैनन्। ‘बीचबाटोमा अर्कोलाई राख्न दिएको राहदानी हरायो,’ थापाले पोर्चुगलबाट नागरिकसँग भने, ‘अहिले राहदानी नहुँदा काम पाइएको छैन।’ राहदानी नहुँदा पोर्चुगलमा उनले बैंक खाता खोल्न र काम गर्न अनुमति नपाएका हुन्।

थापा मात्र होइन पोर्चुगल पुगेकी दोलखाकी निमा शेर्पाको साथमा पनि राहदानी छैन। राहदानी नहुँदा पोर्चुगल बस्नका लागि कानुनी प्रक्रिया सुरु गर्न पाएकी छैनन्। राहदानी बनाउन शेर्पा पटक–पटक पोर्चुगलमा रहेको अवैतनिक नेपाली महाबाणिज्यदूतको कार्यालय पुग्छिन्। शेर्पाले राहदानी बनाउन पाएकी छैनन्। विभिन्न बाटोबाट पोर्चुगल पुगेका नेपालीलाई त्यहाँको वैधानिक बसाइका लागि राहदानी आवश्यक पर्छ। राहदानी बनाउन नपाउँदा त्यहाँको सामाजिक र आर्थिक अधिकार प्राप्त गर्न सकेका छैनन्। थापा र शेर्पा जस्ता हजारौं नेपाली राहदानीविहीन छन्।

पोर्चुगलस्थित अवैतनिक नेपाली महाबाणिज्यदूतको कार्यालयमा अनुसार करिब ५५ सय नेपाली राहदानी बनाउन प्रतीक्षा गरेर बसेका छन्। नयाँ राहदानी बनाउन र नवीकरणको पर्खाइमा रहेका रहेका नेपालीको संख्या करिब ५५ सय रहेको अनुमान गरिएको पोर्चुगलस्थित अवैतनिक नेपाली महाबाणिज्यदूतको कार्यालयमा कार्यरत छविलाल बगालेले बताए। ‘नयाँ राहदानी बनाउन र नवीकरण गर्न आउनेको संख्या ठूलो छ,’ बगालेले नागरिकसँग टेलिफोनमा भने, ‘राहदानी नहुँदा धेरै नेपाली समस्यामा परेका छन्।’

राहदानी बनाउनका लागि दैनिकजसो पोर्चुगलस्थित अवैतनिक नेपाली महाबाणिज्यदूतको कार्यालयमा सयौंको संख्यामा नेपालीहरूको भीड लाग्ने गरेको छ।

पोर्चुगलमा रहेको महाबाणिज्यदूतको कार्यालयले समन्वय र सहजीकरण गरे पनि राहदानी दिने जिम्मेवारी फ्रान्समा रहेको नेपाली राजदूतावासको हो । सरकारले विद्युतीय राहदानी जारी गर्न सुरु गरेपछि यन्त्रबाचक राहदानी पूर्ण रूपमा बन्द भएको छ। यसले गर्दा धेरै नेपालीको राहदानी नवीकरण गर्नुपर्ने अवस्था छ। कति नेपालीको राहदानी हराएको छ। महावाणिज्य दूतावासका अनुसार १५ सय बढीको राहदानीको म्याद सकिएको छ।

त्यहाँ पुगेका नेपालीलाई राहदानी वितरणका लागि फ्रान्सको दूतावाससँग समन्वय गरिररहेको पोर्चुगलका लागि अवैतनिक नेपाली महाबाणिज्यदूत मकर हमालले बताउँदै आएका छन्। ‘राहदानीको समस्याबारे राजदूतावासमा जानकारी गराइएको छ,’ हमालले भने, ‘छिट्टै राहदानी वितरणको काम अघि बढ्ने विश्वास लिएका छौं।’

नेपाल सरकारले यन्त्रबाचक राहदानी (एमआरपी) लाई स्थगन गरी विद्युतीय राहदानी ९इ–पासपोर्ट० जारी गर्न सुरु गरेपछि पोर्चुगल पुगेका नेपाली समस्यामा परेका हुन्। पोर्चुगलमा करिब ३० हजार बढी नेपाली बसोबास गरिरहेको अनुमान गरिएको छ। युरोपेली मुलुक नेपालीका लागि आकर्षक गन्तव्य बन्दै गएको छ। गैरकानुनी बाटो हुँदै त्यहाँ पुगे पनि वैधानिक रूपमा बस्न पाउने र सजिलोसँग आवासीय भिषा पाउने भएपछि पोर्चुगल धेरै नेपालीको रोजाइमा परेको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *