गायिका मिलन नेवार भन्छिन् , ‘जिन्दगीमा प्रगति गर्न उतारचढाव पनि चाहिने रहेछ’ (भीडीयाे हेर्नुस्)

मनोरंजन

काठमाडौं । रुमानी सपना बोकेर भारतीय राज्य आसामको एउटा गाउँबाट काठमाडौं आएकी थिइन्, मिलन नेवार । उनको सपना थियो गीत-संगीतमा पृथक चिनारी बनाउने । आसाममा छँदा उनले गायकीमा राम्रै छाप छाडिसकेकी थिइन् । थोर-बहुत चर्चा र यश मिलेको थियो । यद्यपि काठमाडौंको जुन धरातलमा उनी उत्रिइन्, त्यो उनको लागि नितान्त नयाँ थियो र काठमाडौंका लागि उनी एक अपरिचित ।

आसाममा हिट भइसकेकी गायिकाको नेपालमा आएर शून्यबाट करिअर सुरु गर्नुपर्दाको संघर्ष आफैंमा अर्थपूर्ण लाग्छ । करिब १३ वर्षअघि संगीत क्षेत्रमा आफ्नो भन्ने कोही नभएको बिरानो सहर काठमाडौंमा आएर उनले छोटै समयमा आफ्नो कलाको जादू छर्न सफल भइन् ।

‘मेरो यहाँ आफ्नो भन्ने त दिदी भिनाजु मात्रै हुनुहुन्थ्यो । मेरो बुबाले पूर्खाको देशमै गएर तिमीले आफ्नो कला फैलाउनुपर्छ भन्नुभएको कुराले नेपालमै आएर केही गर्ने सोच आएको हो । त्यसबेला भिनाजुले मलाई रेकर्डिङ स्टुडियोमा लाने-ल्याउने गरेर धेरै सहयोग गर्नुभयो,’ अनलाइनखबरको गफ स्टेसनमा गफिने क्रममा मिलनले भनिन्, ‘कसो कसो आएको केही समयमै पहिलो एल्बम मिलन निकालें । त्यसको जहिलेदेखि संसारमा गीत निकै रुचाउनुभयो । त्यसपछि खास पछाडि फर्केर हेर्नुपरेनजस्तो लाग्छ ।’

मिलनको टर्निङ प्वाइन्ट बनेको गीत चाहिं ‘गाला रातै’लाई मान्न सकिन्छ । ‘नोटबुक’ यो गीतले आफूलाई ‘मास अडियन्स’मा चिनाएको उनी सुनाउँछिन् । हुन त यसअघि उनले अर्को नेपाली फिल्म ‘मेरो बेस्ट फ्रेण्ड’का लागि ‘म पन्छी हुँ चुम्छु फूलको डाली डाली’ गीत रेकर्ड गराएकी थिइन् । तर त्यो गीत पाँच वर्षपछि मात्रै रिलिज भएछ ।

सांगीतिक करिअरको ग्राफ उकालो लागिरहेको बेला निजी जीवनमा केही उतारचढाव भोगेकी मिलन यस्ता कुराले थप बलियो बनाउने अनुभव सुनाउँछिन् । ‘जिन्दगीमा प्रगति गर्न उतारचढाव पनि चाहिन्छ । अनुभवहरुले राम्रो-नराम्रो छुट्याउन सक्ने बनाउँदो रहेछ,’ उनी भन्छिन् ।

मिलन स्टेज ‘फ्रेण्ड्ली’ गायिका हुन् । ‘फूलबुुट्टे सारी’ गीतबाट अझ चर्चाको शिखरमा पुगेकी मिलनलाई स्टेजमा दर्शक-श्रोतासँग प्रत्यक्ष साक्षात्कार गर्दै गीत गाउनुमा औधि रमाइलो लाग्ने रहेछ । स्टुडियोले गायक-गायिकाको गुणस्तरीय स्वर श्रोतामाझ प्रस्तुत गर्छ भने स्टेजले प्रस्तुति र गायकीको वास्तविक परीक्षा लिने मिलनको बुझाइ छ ।

‘स्टेजमा प्रत्यक्ष दर्शक-श्रोताले सुन्न नपाएसम्म कलाकार परिपूर्ण नहुने रहेछ । यो गायकीको वास्तविक परीक्षा दिने ठाउँ हो जस्तो लाग्छ,’ भर्खरै देशका विभिन्न सहरका साथै कोरिया लगायत मुलुकमा सांगीतिक प्रस्तुति दिएर आएकी मिलन भन्छिन्, ‘मलाई गुरुले भन्नुभएको स्टेज कलाकारको युद्ध क्षेत्र नै हो । त्यहाँ जाँदा अस्त्र, शस्त्र र बस्त्र सबैको तालमेल मिलाएर जानुपर्छ ।’

स्टुडियोमा पनि भ्याइनभ्याइ भएकी मिलनलाई अब ब्याण्डसहितको कन्सर्ट गर्ने सोच छ । हालै मात्र ‘सुनसान रात २’ गीतको लिरिकल भिडियो सार्वजनिक गरेकी मिलनलाई म्युजिक भिडियोमा बढेको अप्रत्यासित खर्च र अस्वस्थ प्रतिस्पर्धाले चिन्तित पनि बनाएको रहेछ ।

गफ स्टेसनमा उनले गीत सुन्ने कि हेर्ने भन्ने विषयमा गज्जब तर्क पेस गरिन्, ‘समयको मागको हिसाबले चल्नुपर्छ । गीत-संगीत श्रवण गर्ने चीज हो, कानलाई शीतलता दिने चीज हो । कानबाट मन-मस्तिष्कमा छिरेर आफूले कल्पना गर्ने कुरा हो । भिडियोलाई प्राथमिकता दिनु राम्रो होइन ।’

प्रशस्त बजेट नहुँदा व्यावसायिक कलाकारलाई भिडियो बनाउनै गाह्रो भएको समेत उनले सुनाइन् । आफ्नो भिडियोमा आफैं मोडलिङ गर्नुको एउटा कारण बढ्दो खर्च भएको पनि उनले प्रष्ट्याइन् ।

आफूले अभ्यास गरेको शास्त्रीय संगीतमा आधारित गीत भने सोचेजस्तो गाउने अवसर नजुरेको मिलनले सुनाइन् ।

‘आफूले अभ्यास गरेको गीत (शास्त्रीय संगीत) कता कता छुटेजस्तो लाग्छ । यसमा नियममा बाँधिनुपर्ने हुन्छ । कमर्सियल गीत खुल्ला र सहज हुने हुनाले अडियन्सले पनि सजिलै स्वीकार्नु हुन्छ भन्ने लाग्छ,’ मिलन भन्छिन्, ‘तर शास्त्रीय गीतको आनन्द बेग्लै छ ।’

गफ स्टेसनमा मिलनले भारतमा पाएका विभिन्न अवसर छाडेर नेपाल नै रोज्नुको कारण, आफ्नो सांगीतिक संघर्ष, भ्वाइस अफ किड्समा कोच बनेको अनुभव, भविष्यको सपना र योजना, कलाकारप्रति राज्यको दायित्वबारे खुलेर कुरा गरिन् ।

गायिका मिलन नेवारसँग गरिएको विस्तृत कुराकानी भिडियोमा :

Leave a Reply

Your email address will not be published. Required fields are marked *