एजेन्सी – पेरिस सेन्ट जर्मेन(पिएसजी)का अर्जेन्टिनी स्टार लियोनेल मेस्सीले क्लबका सहकर्मी किलियन एम्बाप्पेसँग आफ्नो राम्रो सम्बन्ध रहेको बताएका छन्। एक मिडियासँग कुराकानी गर्नेक्रममा मेस्सीले एम्बाप्पेसँग कुनै पनि समस्या नरहेको बताएका हुन्।
एक अन्तर्वार्ताका क्रममा मेस्सीले एम्बाप्पेसँग कस्तो सम्बन्ध छ भनेर प्रश्न गरिएको थियो। सो प्रश्नको जवाफ दिनेक्रममा बाहिर चर्चा गरिएजस्तो एम्बाप्पेसँग आफ्नो नराम्रो सम्बन्ध नरहेको मेस्सीले बताए।
अर्जेन्टिनाको आउटलेट ओलेले मेस्सीलाई कतार विश्वकप फाइनल बारे एम्बाप्पेसँग कुराकानी भयो भनेर प्रश्न गरेको थियो। त्यसको जवाफ दिनेक्रममा मेस्सीले आफूहरु बीच कतार विश्वकप फाइनल, जितको खुशियाली देखि छुट्टि सम्मका बारेमा कुराकानी भएको बताउन छुटाएनन्।
“हो, हामीबीच फाइनलका बारेमा, विश्वकप जित पछि अर्जेन्टिनीहरुले मनाएको खुशियाली, विश्वकप पछिको छुट्टि बारे कुराकानी भयो।”,मेस्सीले अर्जेन्टिनी आउटलेट ओलेसँगको कुराकानीका क्रममा भने।
विश्वकप फाइनलमा मेस्सी र एम्बाप्पे आमने-सामने भएका थिए। विश्वकप इतिहाँसकै रोमान्चक फाइनलमा दुवै खेलाडीले आफ्नो-आफ्नो देशका लागि उच्च प्रदर्शन गरेका थिए। फाइनलमा मेस्सीले दुई गोल गर्दा एम्बाप्पेले ह्याट्रिक गरेका थिए।
खेलका दौरान दुई बीचको प्रतिष्पर्धा स्पष्ट रुपमा देखिएको थियो। दुईले गोल गरेपछि एक अर्कालाई चिढ्याउने गरी गोल सेलेब्रेसन समेत गरेका थिए। जसकारण एम्बाप्पे र मेस्सी बीचको सम्बन्ध बिग्रिएको चर्चा गरिएको थियो।
तर ती चर्चाहरुलाई मेस्सीले सिधै खारेज गरे। उनले भने,”म अर्को टोलीमा थिएँ। मैले विश्वकप फाइनल हार्न पनि सक्थें। तर फाइनलमा जे जसो भए त्यस बारे धेरै चर्चा गरिरहन परेन। तर सत्य यो हो कि एम्बाप्पेसँग त्यस्तो कुनै समस्या छैन।”