काठमाडौं : राष्टिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सरकारबाट बाहिरिने चेतावनी दिएका छन्। मंगलबार बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँगको भेटमा सभापति लामिछानेले गृहमन्त्रालयकाे जिम्मेवारी नपाए सरकार छोड्ने चेतावनी दिएका हुन्।
बालुवाटार स्रोतकाअनुसार सभापति लामिछानेले आफूहरू सरकार ढाल्न सक्ने हैसियतमा रहेकाले आफ्नो भागमा परेको मन्त्रालय नदिए सरकारबाट बाहिरिने चेतावनी दिएका हुन्। प्रतिनिधिसभामा रास्वपाबाट १९ जना सांसद रहेका छन्। ‘उहाँहरूले भागबन्डाअनुसार पाएको मन्त्रालय दिनुपर्ने अडान लिनुभयो।
गृह नपाए सरकारबाट बाहिरिने चेतावनी दिनुभएको छ। तर, प्रधानमन्त्रीज्यू तत्कालै दिने मनस्थितिमा हुनुहुन्न,’ बालुवाटार स्रोतले भन्यो। जवाफमा प्रधानमन्त्री प्रचण्डले भर्खरै नागरिकता लिएकाले गृहमन्त्रालयको जिम्मेवारी दिन नसकिने बताएका थिए ।माओवादी केन्द्रभित्र रास्वपालाई गृहमन्त्रालय दिन नहुने पक्षमा अधिकांश नेताहरू रहेका छन्।
उता गृहमन्त्री पद दिन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड अलमलमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले जनाएको छ ।प्रधानमन्त्री प्रचण्डसँग सभापति रवि लामिछानेले गरेका दुई भेटमा प्रगति नभएको पार्टी महामन्त्री तथा प्रवक्ता मुकुल ढकालले बताए ।
पार्टी सभापति रवि लामिछाने आइतबार र मंगलबार बिहान प्रधानमन्त्रीलाई भेटेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीले गृहमन्त्री प्राप्त गर्ने निर्णय प्रधानमन्त्रीले गरेपछि मात्रै आफ्नो दलमा कसलाई पठाउने भनेर छलफल हुने उनले बताए ।‘गृहमन्त्री रास्वपाले पाइसकेको विषय हो ।
गृहमन्त्रीको नाम पठाउनुस् भनिसकेको स्थिति पनि छैन,’ ढकालले भने, ‘प्रधानमन्त्रीले हामीलाई गृहमन्त्री दिने भनेपछि व्यक्ति निर्णय गर्छौं ।’गृहमन्त्री आफ्नो दलले प्राप्त गर्ने प्रधानमन्त्रीले निर्णय लिएपछि मात्रै सांसद वा गैरसांसद कसलाई पठाउने पार्टीभित्र छलफल गरिने ढकालले बताए ।
‘पार्टी सभापतिको नेतृत्वमा सरकारमा नजाँदा घाटाहरु पनि देखिन्छन् । सभापति नै गृहमन्त्रीमा जाँदा पनि केही घाटाहरु छन्,’ ढकालले भने, ‘घाटा/फाइदा तौलेर र के गर्दा ठिक हुन्छ, क्याल्कुलेसन गरेर निर्णय गर्छौं ।’ आज नै पुनः प्रधानमन्त्रीसँग छलफल हुनसक्ने उनले बताए ।
नागरिकता सम्बन्धी विवादका कारण रविले उपप्रधानमन्त्री तथा गृहमन्त्री पद गुमाएपछि नेकपा माओवादी केन्द्रले गृह मन्त्रालय आफैंसँग राख्न खोजेको छ । तर प्रधानमन्त्री प्रचण्डमाथि सत्ता साझेदार दल नेकपा एमाले र रास्वपाबाट गृह मन्त्रालय पुनः रास्वपालाई नै दिनुपर्ने दबाव छ ।
माओवादी केन्द्रका एक नेताले भने, ‘हामी गृह मन्त्रालय आफैंसँग राख्न चाहान्छौं तर हामीमाथि तीव्र दबाव छ ।’प्रधानमन्त्री प्रचण्डका राजनीतिक सल्लाहकार हरिबोल गजुरेलले भने सरकार गठनको बेला हतारमा गृह मन्त्रालय रास्वपालाई दिनुपरेको भन्दै अब सत्ता साझेदार दलहरुसँग छलफल गरेर उपयुक्त निर्णय लिने बताएका छन् ।
रविले अमेरिकी नागरिकता त्यागेपछि नेपाली नागरिकता लिने प्रक्रिया पूरा नगरेको भन्दै सर्वोच्च अदालतले शुक्रबार उनको सांसद पद खारेज गरेको थियो । त्यससँगै उनले उपप्रधानमन्त्री तथा गृहमन्त्री पद गुमाएका थिए । गत आइतबार उनले जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट नेपाली नागरिकता लिएका थिए ।