धनुषाको इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरको हिरासतबाट ६ जना अभियुक्त फरार भएका छन् । आइतबार राति हिरासत तोडेर ६ अभियुक्त फरार भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता डीएसपी प्रदीपबहादुर क्षेत्रीले बताए । उनका अनुसार दुई जना हातहतियार, दुई जना लागुऔषध र दुई जनासहित ६ जना हिरासतमा रहेका अभियुक्त राति भागेका हुन् ।
हिरासतमा जम्मा ७ जना अभियुक्त रहेको उनले बताए । तीमध्ये सवारी दुर्घटना मुद्दाका एक जनाबाहेक सबै फरार भएका छन् । इलाका प्रहरीको भवन पुरानो र जिर्ण भएका कारण अभियुक्तलाई भाग्न सहज भएको बुझाइ प्रहरीको छ । फरार भएकाहरुको खोजी कार्य रातिदेखि नै भइरहेको प्रहरीले जनाएको छ ।
पुरानो घरमा रहेको हिरासत कक्षको शौचालयको ढोका फोडेर ढोकाको बिड लिएर पर्खालबाट इँटा झिकेर बिहान ३ बजे थुनुवाहरू फरार भएका डीएसपी क्षेत्रीले जानकारी दिए ।
थुनुवा फरार घटनाको छानबिनका लागि समिति गठन गरिने र फरारहरूको खोजी गर्न विशेष टोली खटाइएको उनले बताए ।
प्रहरी हिरासतमा रहेका लागूऔषध मुद्दाका आरोपित विनोदकुमार शर्मा, सार्वजनिक अपराध मुद्दाका आरोपित अमित मण्डल, रोशन यादव, अभद्र व्यवहार मुद्दाका आरोपित हसिम सिंह, रोशन महतो र हातहतियार मुद्दा आरोपित रोशन महतो र शंकर सिंह पर्खाल भत्काएर फरार भएका जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
फरार ६ जनालाई म्याद थप गराएर अनुसन्धानका लागि हिरासतमा राखिएको थियो ।