फाइनल पुगेपछि खुशी सँगै भावुक भए मेस्सी,दिए यस्तो प्रतिक्रिया

खेलकुद

काठमाण्डौ। साबिक उपविजेता क्रोएसियालाई हराउँदै अर्जेन्टिना फिफा विश्वकप २०२२ को फाइनलमा पुगेको छ। कतारस्थित लुसैल स्टेडियममा भएको खेलमा अर्जेन्टिनाले क्रोएसियालाई ३–० को जित हात पारेको हो।

अर्जेन्टिनाको जितमा जुलियन अल्भारेजले दुई तथा लिओनेल मेस्सीले एक गोल गरे । मेस्सीले खेलमा एक दर्शनीय असिस्ट पनि प्रदान गरेका थिए । मेस्सीले प्रतियोगितामा ५ गोलका साथ सर्वाधिक गोलकर्तामा किलीयन एमबाप्पेसँग बराबरी पनि गरे । उनी अर्जेन्टिनाका लागि ११ गोलका साथ विश्वकपको सर्वाधिक गोलकर्ता पनि भए ।

खेलपछि बोल्दै मेस्सीले आफूलाई टिममा विश्वास रहेको बताए । ‘मलाई थाहा छैन यो मेरो उत्कृष्ट विश्वकप हो या होइन । म लामो समयदेखि यो खेलमा रमिरहेको छु । मलाई यो टिममा विश्वास थियो कि हामी अन्त्यसम्म जान सक्छौं भनेर । हामीलाई आफ्नो क्षमता थाहा छ र मात्र विश्वास गरिदिन आग्रह गर्दछौं,’ मेस्सीले सेमिफाइनलमा जितपछि भने ।

‘हामी कठिन परिस्थितिको सामना पार गरेर यहाँ आइपुगेका छौं । आज हामी एकदम राम्रो अवस्थामा छौं । र यो खुसी अर्जेन्टिनी समर्थकसँग साट्न चाहन्छौं । अहिले अर्जेन्टिनामा कस्तो अवस्था होला सम्झेर खुसी छु ।’

‘हामी प्रतियोगिताको सुरुवातमा बलियो दावेदारको रुपमा थिएनौं । तर हामी कसैलाई सहज रुपमा छोड्ने पक्षमा पनि थिएनौं । हामीले हरेक खेलपिच्छे आफ्नो क्षमता देखाएका छौं ।’

अर्जेन्टिनालाई जित दिलाउने क्रममा खेलको ३४ औं मिनेटमा कप्तान लियोनेल मेस्सीले पेनाल्टीमार्फत गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। त्यस्तै खेलको ३९ औं र ६९ औं मिनेटमा जुलियन अल्भारेजले गोल गर्दै खेल ३–० को अवस्थामा पुयाएका थिए।

खेलमा थप गोल हुन नसकेपछि अर्जेन्टिनाले फाइनलमा आफ्नो स्थान पक्का गरेको हो।अर्जेन्टिना यसअघि १८ वटा विश्वकपमा सहभागी भइसकेको छ। यो उसको लगातार तेह्रौं विश्वकप हो। दुई पटकको विश्वविजेता अर्जेन्टिना पछिल्लोपटक २०१४ मा फाइनलमा पुगेको थियो।

विश्वकै नम्बर एक खेलाडी लियोनल मेस्सीको साथमा भने उसले विश्वकप जित्न सकेको छैन। कप्तान मेस्सीको यो अन्तिम विश्वकप हुने सम्भावना छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *