सेमिफाइनल अगाडी अर्जेन्टिनालाई झड्का, हुने भयो कडा कारवाही !

खेलकुद

काठमाडौं । कतारमा जारी विश्वकपको क्वार्टरफाइनलमा नेदरल्यान्ड्सविरुद्ध भावनाविपरीत कार्य देखाएको भन्दै फिफाले अर्जेन्टिनाविरुद्ध अनुशासन कारबाही अघि बढाएको छ ।

यो खेलमा अर्जेन्टिनी खेलाडीहरूले फिफाको अनुशासन नियममा रहेको ‘आदेश र सुरक्षा’को उल्लंघन गरेको जनाउँदै फिफाले अर्जेन्टिना फुटबल संघलाई कारबाहीको प्रक्रिया अघि बढाएको हो ।

खेलमा २–१ को अग्रता लिएको अवस्थामा इन्जुरी समयको अन्तिम मिनेटमा नेदरल्यान्ड्सले बराबरी गोल फर्काएपछि तनावपूर्ण बनेको खेलमा अर्जेन्टिनाका बेन्चका खेलाडी र प्रशिक्षण टिम मैदानमै उत्रिएका थिए ।

नेदरल्यान्ड्सको यो गोलसँगै खेल अतिरिक्त समयमा धकेलिएको थियो । तर, अतिरिक्त समयमा पनि खेल २–२ को बराबरीमा रोकिएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट भएको थियो ।

पेनाल्टीमा अर्जेन्टिनाले ४–३ ले खेल आफ्नो पक्षमा पारेपछि पनि मैदानमा दुई टिमका खेलाडीबीचको गर्मागर्मी चर्केको थियो ।

निकै तनावपूर्ण बनेको यो खेलमा अर्जेन्टिनाका कप्तान लियोनल मेसी र डच टिमका कप्तान भर्जिल भान डाइगसहित कीर्तिमानी १७ खेलाडीले पहेँलो कार्डको दर्शन पाएका थिए । विश्वकपको इतिहासमा हालसम्म कुनैपनि खेलमा यतिधेरै पहेँलो कार्ड देखाइएको थिएन ।

कुनैपनि टिमले एकै खेलमा पाँच पहेँलो कार्डको दर्शन गरे उक्त टिमलाई फिफाले खेल भावनाविपरीत कार्यको अनुशासनात्मक कारबाही गर्छ ।

खेलमा दुवै टिमले पाँचभन्दा बढी कार्ड पाएका थिए । यसैकारण फिफाले दुवै टिममाथि कारवाही प्रक्रिया अघि बढाएको हो ।

खेलका दौरान भएको यो कार्यका लागि फिफाको अनुशासन कमिटिले दुवै टिमको फुटबल संघलाई समान १६ हजार डलरको जरिबाना गराउन सक्नेछ । यसमा फिफाले अर्जेन्टिनामाथि अझ भारी जरिबाना लगाउन सक्ने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

कारबाही प्रक्रिया अघि बढाएको जनाएपनि फिफाले यसबारे समयसीमा भने तोकेको छैन । यसअघि जारी विश्वकपमा खेल भावनाविपरीत कार्य गरेको भन्दै फिफाले साउदी अरेबियामाथि दुईपटक जरिबाना लगाएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *