किन नेयमारले हानेनन् सुरुमै पेनाल्टी ? यस्तो रहेछ कारण !

खेलकुद

एजेन्सी – फिफा विश्वकप कतार २०२२ अन्तर्गत क्वाटरफाइनलमा क्रोएसियाले टाइब्रेकरमा जित हासिल गर्दै ब्राजिललाई विश्वकपबाट बाहिर पठायो । अतिरिक्त समयमा १-१ को बराबरी भएपछि टाइब्रेकरमा गोलरक्षक डोमिनिक लिभाकोभिच पुन: नायक बने ।

ब्राजिलका लागि टाइब्रेकरमा पहिलो प्रहार गरेका युवा विंगर रोड्रीगोको प्रहारलाई लिभाकोभिचले विफल पारे । त्यसपछि दुवै टोलीका खेलाडीले लगातार गोल गरेका थिए । मार्किन्हसले ब्राजिलको चौथो प्रहारमा गोल गर्न नसकेपछि टोलीको यात्रा लगातार दोस्रो वर्ष क्वाटरफाइनलमा टुंगियो ।

खेलपछि पत्रकार सम्मेलनमा बोल्दै ब्राजिलका प्रशिक्षक टिटेले नेयमारले पाँचौ पेनाल्टी हान्ने योजना रहेको बताए । ‘नेयमारले पाँचौ पेनाल्टी प्रहार गर्ने थिए । सबैभन्दा बढी दबाब उक्त पेनाल्टीमा हुने भएकाले हामीले सबैभन्दा राम्रो खेलाडी र मानसिक रुपमा तयार रहेका उनलाई भनेका थियौं,’ टिटेले भने ।

तर पछिल्लो समय टाइब्रेकरमा लगातार सुरुवाती प्रहारमा सफल हुन नसक्दा आफ्नो उत्कृष्ट पेनाल्टी टेकरलाई सुरुमै हान्न लगाउनु पर्ने चर्चा पनि चलेको छ । त्यसै अनुरुप नेदरल्यान्ड्स र अर्जेन्टिनाले दोस्रो क्वाटरफाइनलमा कप्तान भर्जील भान डाइक र लिओनेल मेस्सीलाई पेनाल्टी प्रहारका लागि पठाएका थिए । मेस्सीले गोल गर्दै अन्य खेलाडीमाथि दबाब कम गराए ।

यता ब्राजिल भने पहिलो पेनाल्टीमा चुकेपछि टाइब्रेकर अवधिभर दबाबमा रहयो । नेयमारले अतिरिक्त समयको पहिलो हाफको इन्ज्युरी समयमा गोल गर्दै ब्राजिललाई जितनजिक पुर्याएका थिए । तर क्रोएसियाले खेलको ३ मिनेट समय बाँकी हुँदा बराबरी गोल गर्दै खेल टाइब्रेकरमा पुर्याएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *