काठमाडौं । अभियन्ता तारा बरालले हिजो सर्वोच्च अदालतमा प्रधानन्यायाधीस चोलेन्द्रशमशेर जबरालाई छेक्न बसेका वकिलहरुमाथि जुत्ता प्रहार गरिन् । प्रधानन्यायाधीशको समर्थनमा नाराबाजी गर्दै उनले आफूले लगाएको एउटा जुत्ता फुकालेर वकिलहरुको समूहलाई ताकेर हानेकी थिइन् ।
आफूले प्रहार गरेको जुत्ता बरालले फिर्ता पाइनन् । पाउmन् पनि कसरी, उनलाई प्रहरीले झ्यापझुप पारेर भ्यानमा राखिहाल्यो । उनले हानेको जुत्ता प्रहरीले सर्वोच्चको पर्खालभित्र मिल्काइदिए । एउटा जुत्ता लगाएर बराल प्रहरी चौकी गइन् ।
हिजोको घटनाबाट भाइरल भएकी बराल अहिले मिडियाहरुमा अन्तर्वार्ता दिन व्यस्त छिन् । एउटा अन्तर्वार्तामा उनले आफूले लगाएको एउटा जुत्ता हिजो वकिलहरुलाई हानेपछि हराएको र अर्को राम्रो जुत्ता किन्ने क्षमता नभएको बताएकी थिइन् ।
उनको सो गुनासोले जर्मनीमा रहेकी अभियन्ता आशिका तामाङलाई छोयो । उनले सामाजिक सञ्जालमा बरालप्रति सहानुभूति जनाउँदै उनका लागि ब्राण्डेड जुत्ता किनिदिने बताएकी छन् ।
फेसबुकमा स्टाटस लेख्दै तामाङले भनेकी छन्, ‘व्यक्तिगत रुपमा त चिन्दिनँ उहाँलाई तर, उहाँ मेरो सम्पर्कमा आउनुभो र खुट्टाको साइज पठाउनुभो भने जर्मनी ब्रान्डको दह्रो खालको जुत्ता हजुरलाई किनिदिनेछु ।’
आशिका तामाङ सामाजिक सञ्जालमा धेरैले पछ्याउने अभियन्ता हुन् । फेसबुकमा उनका झण्डै ९ लाख फलोअर्स छन् । लामो समयदेखि जर्मनीमा बसोबास गर्दै आएकी उनले आशिका फाउन्डेसनमार्फत नेपालमा विभिन्न सामाजिक काममा योगदान दिँदै आएकी छन् ।