पोर्चुगलमा भाँड-भैलो, रोनाल्डो प्रशिक्षणबाट आउट !

खेलकुद

एजेन्सी – कतारमा फिफा विश्वकप फुटबल चलिरहेका बेला पोर्चुगलको टोलीमा लगातार तनाव देखिएको छ । टोलीका प्रमुख खेलाडी तथा कप्तान समेत रहेका क्रिस्टियानो रोनाल्डो र प्रशिक्षक फर्नान्डो सान्तोषबीच खटपट लगातार कायम रहेको खबर अन्तर्राष्ट्रिय मिडियाका आएका छन् ।

अन्तिम १६ को खेलमा स्वीट्जरल्यान्डविरद्ध ६–१ को जित निकाल्ने क्रममा रोनाल्डोलाई सुरुआतमा नखेलाई बेन्चमा राखिएको थियो । सो खेलमा रोनाल्डो खेलको ७३औं मिनेटमा मात्रै मैदान पसेका थिए । महत्त्वपूर्ण खेलमा बेन्चमा रहनुपर्दा रोनाल्डो पटक्कै खुसी थिएनन् । दोस्रो हाफमा पनि उनलाई ढिला मात्रै मैदान उतारियो ।

स्वीट्जरल्यानडसँगको खेलअघि समूह चरणको अन्तिम खेलमा साउथ कोरियाविरुद्ध खेल्ने क्रममा रोनाल्डोलाई चाँडै सब्सिच्यूट गर्दा उनी रिसाएका थिए । उनले प्रशिक्षकसँग अपात्ति जनाएका थिए । त्यसैबाट रिसाएका सान्तोषले रोनाल्डोलाई स्वीट्जरल्यान्डविरुद्ध सरुआती ११ मै राखेनन्, बेन्चमा थन्क्याइदिए । त्यहाँबाट रोनाल्डो झनै रिसाए । कोरियासँगको खेलपछि रोनाल्डोसँग छलफल गरेर समस्या सुल्झाएको प्रशिक्षकले स्वीट्जरल्यान्डसँगको खलअघि बताएका थिए । तर, भोलिपल्ट उनले रोनाल्डोलाई सुरुआती ११ मा राखेनन्, बेन्चमा राखे ।

त्यसबाट रिसाएका रोनाल्डोले सो खेलमा थोरै मात्रै समय पाए । जसबाट रोनाल्डो झन् बिच्किए । टोलीका प्रमुख खेलाडी र कप्तानलाई नै महत्त्वपूर्ण खेलमा बेन्चमा राखेपछि रोनाल्डो रिसाउनु स्वभाविक नै थियो । स्वीट्जरल्यान्डविरुद्ध टिमले ६ गोल गर्दा रोनाल्डोका नाममा गोल र असिस्ट दुवै रहेन ।

तैपनि, टिमको जितमा उनी खुसी भए, रमाए । अन्तिम आठमा अब पोर्चुगलले मोरक्कोसँग खेल्नेछ । सो खेलपछि पोर्चुगलको टिममा थप तनाव देखिएको छ । स्वीट्जरल्यान्डसँगको खेलपछि दुई दिन खेल नरहेकोमा सान्तोषले पहिलो दिन ती खेलाडीलाई मात्रै प्रशिक्षणमा बोलाएका थिए, जो–जो स्वीट्जरल्यान्डविरुद्धको खेलमा सुरुआती ११ मा परेका थिएनन् ।

वा, बेन्चमा रहेका र बेन्चबाट खेलेका खेलाडीलाई मात्रै प्रशिक्षणमा डाकिएको थियो । अन्य खेलाडीलाई भने जिमखानामा अभ्यास गर्न भनिएको थियो । तर, रोनाल्डो ‘बेन्च खेलाडीको प्रशिक्षण क्याम्प’ गएनन् । बेन्च खेलाडीको प्रशिक्षणमा आफूलाई डाकेर आफ्नो अपमान गरेको ठानेर रोनाल्डो प्रशिक्षणमा सामेल भएनन् । र, अन्य सहकर्मीसँगै जिमखानामा मिसिएर अभ्यास गरे । तर, यो कुरा प्रशिक्षकको निर्देशन अनुसार थिएन । सान्तोषले बेन्च खेलाडीलाई मात्रै पूरा प्रशिक्षणमा डाकेपछि त्यहाँ रोनाल्डो पनि हुनुपर्ने थियो । तर, रोनाल्डो गएनन् ।

प्रशिक्षक सान्तोषको निर्देशन अनुसार रोनाल्डो प्रशिक्षणमा नगई सुरुआती टिमका खेलाडीसँग जिमखानामा सामेल भएपछि यस कुराले अबको खेलमा झन् असर पार्ने बुझिएको छ । रोनाल्डोको यही व्यवहारले अबको खेलमा पनि रोनाल्डो बेन्चमै थन्किने वा खेल्नै नपाउने सम्भावना रहने अनुमान गर्न सकिन्छ ।

यसअघि स्वीट्जरल्यान्डविरुद्धको खेलमा सान्तोषलाई अन्तिम आठमा रोनाल्डोले खेल्ने वा नखेल्ने विषयमा सोध्दा त्यो ‘अवस्था हेर्नुपर्ने’ भन्दै हलुका जवाफ दिएका थिए । अझ आफ्नो निर्देशन अनुसार प्रशिक्षणमा सामेल नभएपछि रोनाल्डोमाथि सान्तोषले थप ‘एक्सन’ लिने सम्भाना झनै बढेको छ ।

स्वीट्जरल्यान्डविरुद्धको खेलमा रोनाल्डो बेन्चमा रहँदा उनी ठूला प्रतियोगितामा ३१ खेलपछि रोनाल्डो पहिलोपटक प्लेइङ ११ मा पर्न असफल भएका थिए । सन् २००८ यता उनले करियरमा पहिलोपटक आधिकारिक ठूला खेलमा बेन्चबाट खेल्नु परेको थियो । २००८ पछि ठूला प्रतियोगिताका ठूला खेलमा रोनाल्डोलाई कहिल्यै पनि बेन्चमा राखिएको थिएन ।

यता, रोनाल्डोसँग बढेको विवादले टिमलाई असर पार्ने भन्दै अन्य खेलाडीले यसलाई प्रशिक्षकले चाँडै सल्टाउनुपर्ने बताएका छन् । स्वीट्जरल्यान्डविरुद्धको खेलपछि मिडफिल्डर ब्रुनो फर्नान्डेजले यस्तो बेला टिममा समस्या पैदा हुनु राम्रो नरहेको भन्दै प्रशिक्षक र क्रिस्टियानो रोनाल्डोले बसेर समाधान गर्नुपर्ने बताएका थिए ।

जारी विश्वकपमा पोर्चुगलले समूह चरणमा ३ र अन्तिम १६ गरी ४ खेल खेलिसक्दा रोनाल्डोले जम्मा १ गोल मात्रै गरेका छन्, त्यो पनि पेनाल्टीमार्फत् । करियरको अन्तिम विश्वकप खेलिरहेका ३८ वर्षका उनका लागि अहिले विश्वकपमा जे गुज्रिरहेको छ, त्यो ठीकठाक छैन । क्लब म्यानचेस्टर युनाइटेडमा पनि तनाव झेल्दै पोर्चुगल पुगेका रोनाल्डोका लागि राष्ट्रिय टिममा पनि अहिले अवस्था प्रतिकूल बन्दै गएको देखिन्छ ।

देशको जर्सीमा ११८ गोल गरेका र आफ्नै नायकत्वमा देशलाई दुई उपाधि जिताएका रोनाल्डो कम्तीमा पनि अन्तिम विश्वकपमा सम्मानजनक स्थान र बिदाइ चाहन्छन् । त्यसका लागि प्रशिक्षकले पहिलाकै जस्तो जिम्मेवारी दिउन् भन्ने चाहेका छन् ।

तर, रोनाल्डोको बढ्दो उमेर र खस्किँदो प्रदर्शनका कारण प्रशिक्षक सान्तोषले टिममा रोनाल्डोको विकल्प खोजी गर्न थालेपछि यहीं बिन्दुबाट पोर्चुगलको टोलीमा तनाव सुरु भएको हो । रोनाल्डोको युग सुरु हुनुअघि ४२ वर्षमा मात्रै ३ पटक विश्वकपमा छनौट पोर्चुगल रोनाल्डोले खेल्न थालिकन हरेकपटक विश्वकप खेल्दै आएको छ भने दुईपटक त सेमिफाइनल प्रवेश गरेको छ ।

दुई ठूला उपाधि पनि जितेको छ । पोर्चुगलले २०१६ को युरो कप र २०१९ मा युईफए नेसन्स लिगको उपाधि जितेको थियो । यी दुवै सफलता पाउँदा रोनाल्डो टिमका प्रमुख खेलाडी हुन् । यसरी पोर्चुगललाई काँधमा बोकेर यहाँसम्म ल्याएका रोनाल्डो अहिले आफूमाथि प्रशिक्षकले सम्मानजनक व्यवहार नगरेको भन्दै निराश छन् । टोलीमा अहिले जुन तनाव देखिएको छ, यो त्यसकै असर हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *