दोहा– आफ्नो प्रेमी क्रिस्टियानो रोनाल्डोलाई मंगलबार राती स्विट्जरल्याण्डविरूद्धको खेलमा छोटो समयका लागि मात्र मैदानमा उतार्ने निर्णयप्रति जर्जिना रोड्रिगेजले आपत्ति जनाएकी छिन्। २८ वर्षीय मोडल रोड्रिगेज लामो समयदेखि रोनाल्डोसँग ‘लभिङ’ मा छिन्।
रोनाल्डोलाई प्लेइङ–११ मा मौका नदिएको खेलमा पोर्चुगल ६–१ गोलले विजयी भएको थियो। यतिबेला ३७ वर्षीय रोनाल्डो बेञ्चमा बसेका थिए र उनको अनुहारमा निरासा झल्किन्थ्यो। रोड्रिगेजले सोसल मिडियामा आक्रोस पोख्दै भनिन्, ‘हामीले ९० मिनेटसम्म विश्वको
उत्कृष्ट खेलाडीको खेलको मजा लिन पाएनौं। यो निकै लज्जाको विषय हो।’उनले पोर्चुगलको राष्ट्रिय गान बचेपछि मिडियाले मैदान बाहिर रहेका रोनाल्डोको तस्बिर खिच्न ध्यान केन्द्रीत गरेको बताइन्। उनले लेखेकी छिन्, ‘बधाई पोर्चुगल! ११ खेलाडीहरूले राष्ट्रिय गान गाए तर निशाना सबैतिरबाट तपाईमा।’
उनले रोनाल्डोलाई नखेलाउने निर्णयप्रति असन्तुष्टी जनाउदै भनिन्, ‘फ्यानहरूले तपाईको नाम चिच्याउन छोडेका थिएनन्।’ उनले भगवान र प्रशिक्षक फर्नान्डो सान्तोषले न्याय गर्ने भन्दै लेखेकी छिन्, ‘मलाई आशा छ, भगवान र तपाईंको प्रिय मित्र फर्नान्डोले हात समातेर हामीलाई अर्को रात (खेल) मा कम्पन गराउनु हुनेछ।’
मंगलबार राती रोनाल्डोको ठाउँ लिएका गोन्सालो रामोसले ६–१ ले विजयी खेलमा ह्याट्रिक गोल गरेका थिए। रोनाल्डोलाई अन्तिम १७ मिनेटमा मैदान प्रवेश गराइदिएको थियो। पोर्चुगलको क्वाटरफाइनल मोरक्कोसँग शनिबार हुनेछ। उता बेल्जियमका स्टार खेलाडी तथा टिमका कप्तान समेत रहेका इडेन हाजार्डले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास घोषणा गरेका छन् ।
कतारमा जारी फिफा विश्वकप फुटबलबाट आफ्नो देश समूह चरणबाटै आउट भएको केही दिनकै बीचमा हाजार्डले राष्ट्रिय टोलीबाट सन्यास लिने घोषणा गरेका हुन् ।उनले सामाजिक सन्जालमार्फत सन्यासको घोषणा गरेका छन् । समूह चरणको अन्तिम खेलमा बेल्जियम क्रोएसियासँग ०–० मा रोकिएपछि उसको उपाधि सपना नमिठो गरी समूह चरणमै टुटेको थियो ।
हाजार्ड बेल्जियन टोलीका एक प्रमुख खेलाडी थिए ।उनी आधुनिक फुटबलमा एक गजबका प्लेमेकर मानिन्छन् ।तर, उनले देशबाट एउटा पनि उपाधि नजिती अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिनु परेको छ । लगातार ठूला प्रतियोगितामा असफल हुने क्रम नरोकिएपछि निराश बनेर हाजार्डले ३१ वर्षकै उमेरमा अन्तर्राष्ट्रिय फुटबलबाट बिदा लिने निर्णय गरेका हुन् ।
हाजार्डले सन् २००८ सालबाट राष्ट्रिय टोलीमा खेल्न थालेका थिए ।हाजार्ड क्लब फुटबलमा भने सक्रिय रहने नै छन् ।देशको जर्सीमा १४ वर्ष लगातार खेलेपछि हाजार्डले अन्तर्राष्ट्रिय फुटबलको यात्रा टुंग्याउने फैसला गरेका हुन् । बेल्जियमका लािग उनले १४ वर्ष दौरान १२६ खेल खेल्दै ३३ गोल गरे ।
राष्ट्रिय टोलीका साथमा उनले पाएको सबैभन्दा ठूलो सफलता भएको सन् २०१८ को रसिया विश्वकपको तेस्रो स्थान हो ।त्यो बेला बेल्जियम सेमिफाइनलमा पराजित भएर तेस्रो स्थानका भएको खेलेको खेलमा विजयी भएको थियो । हाजार्डले अन्तर्राष्ट्रिय फुटबलमा यो भन्दा ठूलो सफलता १४ वर्षको दौरान कहिल्यै पाउन सकेनन् ।
विगत लामो समयदेखि राष्ट्रिय टोली उनकै कप्तानीमा थियो ।अहिलेको बेल्जियम टोलीलाई विश्व फुटबलको सदाबहार टोली मानिन्थ्यो । पछिल्ला वर्ष यो देश फिफा वरीयतामा लगातार ४ वर्षसम्म शीर्ष स्थानमा रह्यो । तर, कहिल्यै ठूला उपाधि जितन सकेन ।उपाधि जित्नु त परकै कुरा, एकपटक पनि फाइनलसम्म पुग्न सकेन ।
हाजार्डको १४ वर्षे यात्रामा पनि बेल्जियमले कहिल्यै युरो कप र विश्वकपको फाइनल खेल्न सकेन । तैपनि, यो टिमलाई ‘गोल्डेन जेनेरेसन’ नामले चिनिन्थ्यो । अब यो सुनौलो पुस्ता रहेको टोलीबाट एक प्रतिभाशाली र प्लेमेकर हाजार्ड भने अलग भएका छन् । थप केही खेलाडीले पनि सन्यास लिने सम्भावना छँदैछ ।
स्पेनिस क्लब रियल मड्रिडबाट खेल्दै आएका हाजार्ड क्लबमा पनि जम्न सकेका छैनन् । जिनेदिन जिदान प्रशिक्षक छँदा इंग्लिस क्लब चेल्सीबाट रियल पुगेका हाजार्ड रियलमा सुरुआती ११ मै पर्न संघर्ष गरिरहेका हुन्छन् । क्लब फुटबल पनि भनेजस्तो चल्न नसक्नु र
अन्तर्राष्ट्रिय फुटबलमा पनि यात्रा सोचेजस्तो नहुनुमा पछिल्ला वर्ष हाजार्डले बेहोरेको चोट पनि एक कारण हो । रियल पुगेपछि नै हाजार्ड लगातार गम्भीर चोटबाट गुज्रिँदै आएका थिए । आफूले अन्तर्राष्ट्रिय फुटबलबाट बिदा लिएको घोषणा गर्दै हाजार्डले समर्थकका नाममा एक सन्देश दिका छन् ।
उनको छोटो सन्देश यस्तो छ–‘आज एउटा पाना पल्टिन्छ…… तपाईंको मायाको लागि धन्यवाद । तपाईंको अतुलनीय सहयोगको लागि धन्यवाद । २००८ देखि बाँडेको यो सबै खुशीको लागि धन्यवाद । मैले मेरो अन्तर्राष्ट्रिय करियर अन्त्य गर्ने निर्णय गरेको छु । उत्तराधिकारी तयार छन् । म तपाईंलाई सधैं याद गर्नेछु ……. ।’