पाँच वर्षसम्म सम्बन्धमा रहेर यति धेरै माया गरेको मान्छे दुई सन्तानको बाउ पो रहेछ !

रोचक

जीवनमा भेटिने र छुटिने क्रम चलिरहन्छ। भेटिएका सबैलाई सम्झन पनि नसकिने रहेछ। फेरि कसैलाई बिर्सन यो जीवन पनि सकिनु पर्ने रहेछ। आत्मीय मान्छेले मनमा बसेर मस्तिष्कमा हानिरहँदा रहेछन्।त्यस्तै मेरा पनि केही साथी छन्। उनीहरूले बिर्सिहाले पनि म बिर्सिन सक्दिनँ। यस्तै एउटी साथी हो, स्मारिका। ऊसँग बिबिएस प्रथम वर्षमा अध्यनरत हुँदा भेट भएको थियो। नयाँ क्याम्पस, नयाँ वातावरण, नयाँ परिवेशमा एउटा नयाँ साथीको खोजीमा थिए मँ।

गाउँबाट भर्खर १२ पास गरेर सहर छिरेकी म, मनमा अनेकौ रहर सँगसँगै कता-कता डर पनि थियो। क्याम्पसको पहिलो दिन बिहानै तयार भएर बत्तिसपुतलीबाट हिँड्दै मित्रपार्क पशुपति क्याम्पस पुगेँ। बिहानै त्यहाँ पुग्दा क्याम्पसको चहलपहल बेग्लै थियो। क्याम्पसअगाडि उभिएर यताउता हेरेँ। एकजना दाइलाइ सोधेँ बिबिएस प्रथम वर्षको कक्षा कता छ भनेर। उहाँ क्याम्पसको विद्यार्थी नेता हुनुहुँदो रहेछ, उहाँले कक्षा कोठामै पुर्‍याइदिनु भयो। उहाँलाई धन्यवाद भन्दै म कक्षा कोठामा छिरेँ र दोस्रो बेन्चमा बसेँ।

एकछिनपछि एउटी राम्री केटी कक्षा कोठामा छिरी र अगाडि टक्क रोकिई। ऊ सायद बेन्च हेर्दै थिई। लामो कालो कपाल, अग्लो हिल, हल्का गाजल, हल्का लिपिस्टिक, सिम्पल कुर्था सुरुवाल। नहाँसे पनि हाँसेजस्ती साह्रै राम्री। मैले उसलाई हेरिरहेँ। सायद मैले हेरिरहेको कारण होला ऊ मेरै छेउमा आएर भनी- ‘एक्सक्युज मि! म यहाँ बस्न मिल्छ?’

मैले मुसुक्क मुस्कुराउँदै भनेँ, ‘बसन, यो सिट तिम्रै लागि हो।’
यत्तिकैमै हामी गफ गर्न थाल्यौँ। गफ गर्दै जाँदा थाहा भयो उसको घर गुल्मी, नाम स्मारिका, अहिले गैरीगाउँ बस्ने। पहिलो दिन खासै पढाइ भएन। हामी यत्तिकै आठ बजेतिर क्याम्पसबाट निस्कियौँ। क्याम्पसको गेटमा पुग्दा उसलाई कुरेर कोही बाइकमा बसिरहेको थियो। उसले मलाई ‘बाई सी यू टुमरो’ भन्दै बाइकमा बसी र मेरै अगाडिबाट गई।

सधैं झैँ कलेज आउने जाने क्रम चलिनै रहेको थियो। म धैरै साथी बनाउनेमा पर्दिनँ। त्यसैले ऊ मसँग टाढा नभए हुन्थ्यो भन्ने लागिरहन्थ्यो। नभन्दै छोटो समयमै हामी त एकअर्काको परिपूरकजस्तै बन्न पुग्यौँ। घर-परिवारदेखि लिएर हामीबीच मायाप्रेमका सबै कुरा हुन्थे। रातदिन कुरा गरेर कहिले नसकिने। सायद यति मिल्ने र माया गर्ने साथी पाउनुमा नै हामी एकअर्कालाई भाग्यमानी ठान्थ्यौँ।

क्याम्पसमा छुट्टी नहुँदै उसलाई लिन कोही बाइक लिएर पर्खिरहेको हुन्थ्यो। एक दिन मैले सोधेँ, ‘तिमीलाई क्याम्पसको गेटमा कुरेर बस्ने को हो?’ उसले निसङ्कोच भनी- ‘मेरो बिएफ।’ ऊ देख्दा मात्रै राम्री हैन, उसमा सहयोगी भावना, खुला हृदय, सफा मन, सबैलाई सम्मान गर्ने। सब कुरा खुलस्त भन्ने बानी, खुला किताब जस्ती। मानौँ ऊसँग बत्तिस वटै गुण थिए।

उसलाई कक्षामा मन पराउने केटाको कुनै कमी थिएन। भनिन्छ नि, हजारौँको भिडमा पनि मनमा एकजनाको बास हुन्छ। उसले पनि मनमा कसैलाई बास दिइसकेकी थिई। एकदिन मैले जिस्काउँदै भनेँ, ‘तिमी त कति धेरै भाग्यमानी है? यस्तो माया गर्ने बिएफ पाएकी छौ।’ उसले मुस्कुराउँदै भनी, ‘हामी दुवै भाग्यमानी छौँ, म पनि उहाँलाई झन् धेरै माया गर्छु। म त अझै भाग्यमानी भएकी छु तिमीजस्ती मायालु साथी मसँग छौ।’

उसले मलाई पनि मख्ख बनाई। म साथी भएर ऊ कति खुसी थिई। उसले अनुभूति गर्ने कुरा हो तर ‍‍मैले ऊजस्ती साथी पाउनु भाग्य नै ठान्थेँ। हामी एकअर्काको तारिफ गरेर थाक्दैनथ्यौँ। प्रायःजसो शनिबारको दिन हामी पशुपति मन्दिरको कैलाश डाँडा र आर्यघाटको माथि मृर्गस्थली गएर गफिँदै बस्थ्यौँ। यस्तै क्रममा एक दिन मैले जिस्काउँदै भनेँ, ‘तिमी त मिठो मायामा परेकी मान्छे, भविष्यका योजना पनि मिठा-मिठा होलान् सुनाऊ न।’

उसले पनि जिस्कँदै भनी, ‘माया गरेर मात्रै पनि नहुँदो रहेछ। हाम्रो उमेर अन्तर पनि धेरै छ। उहाँ सरकारी जागिरे, म भर्खर पढ्दैछु। कहिले जागिर खाने, कहिले बिहे गर्ने! तर आशा गरौँ राम्रै हुनेछ। अनि तिमी मायामा छैनौ?’ ‘तिमीजस्ती भाग्यमानी म कहाँ छु,’ मैले हाँसेरै टारिदिएँ।

यस्तै रमाइलो पलहरूसँगै बिबिएस सकिएको पत्तै भएन। कलेज सकिएपछि हाम्रो फोनमा घन्टौं कुरा हुन्थे। कुरा पनि उसकै बिएफका मात्रै। मैले सोच्थेँ केटीहरूले जस्तै केटाहरूले पनि माया गर्छन् होला कि? यस्ती राम्री मान्छे! मन पराउने कति छन् तर ऊ आफूले माया गरेको मान्छेसँग विवाह गर्ने भन्छे। केटाले छोड्यो भने यसको हालत के हुने होला? मेरो मनमा कुरा खेलिरहन्थे। कहिलेकाहीँ सम्झाउन मन लाग्थो तर उसको मायामा भएको विश्वासले मलाई सधैँ मौन रहन बाध्य बनायो।

उसको लागि भोक, निद्रा, सपना-विपना, जीवन-मरण भन्नु नै त्यही केटा थियो। यति धेरै माया कसैले कसैलाई गर्छ भन्ने कुरा मैले कथामा सुनेकी र फिल्ममा हेरेकी थिएँ। तर मेरो साथीको माया देखेर म नै दंग पर्थें। यथार्थमा पनि यस्तो माया गर्ने मान्छे हुँदारहेछन्।

शनिबारको दिन घुम्न जाने मन भयो र उसलाई फोन गरेँ तर उसको मोबाइल स्विचअफ। सोसल साइटमा हेरेँ, सबै बन्द। अचानक किन यस्तो गरेकी? आजभन्दा पहिला ऊ यसरी सम्पर्कविहीन कहिले भएकी थइन। मनमा डर लागिरह्यो, कतै उसलाई केही त भएन? करिब एक महिनापछि उसको फोन आयो तर उसले मलिन स्वरमा मलाई भेट्न आऊ है भनी। मैले धेरै कुरा केही नसोधी मृर्गस्थलीतिर लागेँ।

मलाई काठमाडौँको सबैभन्दा मन पर्ने ठाउँ त्यही पशुपतिपारि रहेको मृर्गस्थलीको डाँडो हो। जहाँ म एक्लै पनि दिनभरि बस्न सक्छु। जहाँ मलाई जीवन र मृत्युको राम्रो पाठ आर्यघाटले सिकाइदिन्छ। मन पर्ने ठाउँ, मन मिल्ने साथी। हामी गफिन थाल्यौँ। डाँडाको बेन्चमा बसेर स्मारिकालाई एकतर्फी हेरिरहेँ। उसको अनुहारमा निराशाका रेखाहरू स्पष्ट देखिन्थे। ऊ गम्भीर अनि एकोहोरो देखिन्थी।

मैले सोधेँ, ‘यतिका दिन कहाँ हरायौ स्मारिका? तिमी अति नै फरक भएछौ।’ ‘हेर न रमा, जीवन सोचेजस्तो नहुँदो रहेछ। के सोचेको थिएँ, के भोग्दै छु,’ भन्दै एकोहोरो बर्बराउन थाली। ‘म शारीरिक, मानसिक अनि भावनात्मक रूपमा एकदमै विक्षिप्त भएकी छु। कुन दिन अन्तिम होला कुरेर बसेकी छु’ भन्दै आँखाभरि आँसु टिलपिल पारी।

‘घरमा बिहेको कुरा चलिरहेको थियो, मायामा भएकोले गर्दा कस्ता राम्रा मान्छे आउँदा पनि मैले कतै मन लगाइनँ। म त उहाँसँगै बिहे गर्ने भनेर बसेकी थिएँ। घरबाट अत्ति नै दबाब आएपछि मैले उहाँसँग बिहेको कुरा राखेँ। तर उहाँले म अहिले बिहे गर्न सक्दिनँ भन्दै अनेकौं समस्या देखाउनु भयो। त्यसपछि उहाँ विस्तारै टाढा हुन खोज्नु भयो।

५ वर्षसम्म सम्बन्धमा रहेर यति धेरै माया गरेको मान्छे बिहेको कुरा गर्दा किन टाढा भयो भन्ने मनमा लागिरह्यो। कहिले नगरेको शंकाले मनमा ठाउँ पायो। बुझ्दै जाँदा उहाँ विवाहित हुनुहुँदो रहेछ, दुई सन्तानको बाउ। श्रीमती अमेरीका। यो सब थाहा पाएपछि म त छाँगाबाट खसेँ। संसार सकियो।

म कसरी यस्तो परिबन्दमा परेँ, दिमागले काम गर्न छोड्यो। मनमा निराशाले बास पाएपछि दिमागले पनि काम नगर्ने रहेछ। छटपटी, बेचैनीले म जिउँदो लासजस्तै बनेँ। चाहिनेभन्दा बढी माया र विश्वास अरुलाई गर्नु आफूलाई सकाउनु रहेछ।

पटक-पटक आत्महत्याको असफल प्रयास गरेँ तर सकिनँ। किनकी मेरो दाइ दुर्घटनामा परी स्वर्गबास हुँदा अत्याधिक पीडाको कारण अहिलेसम्म आमाले डिप्रेसनको औषधि लिनुहुन्छ। म पनि भइनँ भने बुवाआमाको हालत के होला? यही सोच्दै हातमा लिएको औषधि लुकाउथेँ। आज मैले पनि झुटो मायाको उपहार डिप्रेशनजस्तो मानसिक रोग पाएकी छु।

उसलाई भन्दा उसको परिवारलाई धेरै सम्झेँ। घरमा श्रीमती हुँदाहुँदै बाहिर प्रेमिका बनाउने लाचार पुरुष। मलाईभन्दा बढी विश्वासघात उसले आफ्नी श्रीमतीलाई गरेको छ। श्रीमतीलाई पनि मलाई जस्तै मायाको भ्रममा राखेको होला।

एउटा शिक्षित पुरुष, सरकारी जागिरे, घर परिवार भएको मान्छेले कसरी आफ्नो परिवारलाई छलेर बाहिर बनावटी सम्बन्ध गाँसेर खुसी हुन सक्छ? एउटा मान्छेले कति जना छोरी मान्छेको भविष्य खेलवाड गर्न सक्छ? सुनेको थिएँ, आज आफै भोगेँ।

यस्ता भावनात्मक कुरामा न्याय खोज्दा उल्टै यो समाजले अन्यायमा पार्छ। मैले जुन पीडा सहेकी छु, अरुले सहन नपरोस् भन्ने चाहना छ। भन्नेले त भन्छन् यो सब सामान्य हो। जसले सामान्य भनेर हिँडेका छन्, उनीहरूले विकल्पमा अरु राखेका छन्। तर मजस्तो एउटै मान्छेलाई माया गर्नेको लागि बिछोड असमान्य कुरा हो। यसले मृत्युको मुखमा पुर्‍याउँदो रहेछ।’

स्मारिकाको यो अवस्था देखेर मैले केही बोल्न सकिनँ। आजभन्दा पहिला भगवानसँग मैले कहिले केही मागेकी छैन। स्मारिकाको स्वास्थ्य लाभको कामना गर्दै आज मृर्गस्थलीबाट भगवान पशुपतिनाथलाई हात जोड्दै मागेकी छु। सँच्चा मान्छेको लागि सँच्चा मान्छे नै पठाइदिनु है भगवान!

Leave a Reply

Your email address will not be published. Required fields are marked *