२२ औं संस्करणको फिफा विश्वकप फुटबलको क्वाटरफाइनलमा पुग्ने ८ टोलीको टुंगो लागेको छ । गएराति पोर्चुगल र स्विट्जरल्याण्डको खेल सकिएसँगै अन्तिम आठमा पुग्ने टोलीको टुंगो लागेको हो । यसपटक साविक विजेता फ्रान्स, साविक उपविजेता क्रोएसिया, ब्राजिल, अर्जेन्टिना, इंग्ल्याण्ड, नेदरल्याण्ड्स, मोरक्को र पोर्चुगलले क्वाटरफाइनलको यात्रा तय गरे ।
पहिलो क्वाटरफाइनलमा ब्राजिलले क्रोएसियाको सामना गर्नेछ । यी दुई टोलीबीचको खेल शुक्रबार राति ८ः४५ देखि सुरु हुनेछ । त्यस्तै, सोही राति १२ः४५ मा हुने दोस्रो क्वाटरफाइनलमा अर्जेन्टिना र नेदरल्याण्ड्सले प्रतिस्पर्धा गर्नेछन् । तेस्रो क्वाटरफाइनलमा मोरक्को र पोर्चुगलले प्रतिस्पर्धा गर्नेछन् । यी दुई टोलीबीचको खेल शनिबार राति ८ः४५ देखि सुरु हुनेछ ।
त्यस्तै, अन्तिम तथा चौथो क्वाटरफाइनलमा फ्रान्सले इंग्ल्याण्डको सामना गर्नेछ । यी दुई टोलीबीचको खेल शनिबार राति १२ः४५ देखि सुरु हुनेछ । स्विट्जरल्याण्डलाई ६–१ गोलअन्तरले हराउँदै पोर्चुगल कतार विश्वकपको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । गएराति लुसइल रङ्शालामा भएको प्रि–क्वार्टरफाइनलको अन्तिम खेलमा पोर्चुगलका लागि गोन्कालो रामोसले ह्याट्रिक गरे । उनले खेलको १७औँ, ५१औँ र ६७औँ मिनेटमा गोल गरे । त्यसैगरी खेलको ३३औँ मिनेटमा पेपे, ५५औँ मिनेटमा राफेल गुरेरियो र राफेल लियोले खेलको अतिरिक्त समयमा गोल गरेका थिए ।
स्विट्जरल्याण्डका लागि ५८औंँ मिनेटमा म्यानुअल अकाञ्जीले एक मात्रै गोल फर्काएका थिए । अन्तिम आठमा पुगेको पोर्चुगलले मोरक्कोसँग प्रतिस्पर्धा गर्नेछ । त्यस्तै, गएराति भएको खेलमा स्पेनलाई हराउँदै मोरक्को क्वार्टरफाइनलमा प्रवेश गरेको छ । एजुकेशन सिटी रङ्गशालामा भएको खेलमा मोरक्कोले स्पेनलाई टाइब्रेकरमा ३–० गोलअन्तरले पराजित गर्दै क्वार्टरफाइनलमा प्रवेश गरेको हो ।
खेलको निर्धारित ९० मिनेटसम्म दुवै टोलीबाट गोल हुन नसकेपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो ।अतिरिक्त समयमा पनि गोलरहित बराबरीमा टुङ्गिएपछि खेल टाइब्रेकरमा पुगेको थियो । टाइब्रेकरमा मोरक्कोका अब्देलहामिद साविरी, हाकिम जियाच र अकरफ हाकिमीले गोल गरे । त्यस्तै मोरक्कोका बदर बनोउनेले भने गोल गर्न सकेनन् ।
स्पेनका कुनै पनि खेलाडीले टाइब्रेकरमा गोल गर्न सकेनन् । पाब्लो सारावियाको सुरुवाती प्रहार पोस्टमा लाग्यो भने कार्लोस सोलेर र सर्जियो बुस्केट्सको प्रहारलाई मोरक्कोका गोल रक्षक यासिन बोनोले बिफल बनाएका थिए ।