अस्ट्रेलियाली खेलाडीहरु बीच मेस्सीको यस्तो क्रेज, फोटो खिच्न लाइन् नै लाग्यो !

समाचार

दोहा– अर्जेन्टिनालाई प्रि–क्वाटरफाइनलमा कडा चुनौती दिएको अस्ट्रेलियाका खेलाडीहरू लिओनल मेसीको ठूलो प्रसंशक भएको खुलासा भएको छ।

९० मिनेट मैदानमा अर्जेन्टिनालाई राम्रोसँग खेल्न नदिएका अस्ट्रेलियाली खेलाडीले अन्ततः २–१ गोलले नतिजा सुम्पिएका थिए। जसमा ३५ मिनेटमा मेसीले डिबक्सभित्रबाट हानेको गोल उत्कृष्ट थियो।

तीन अस्ट्रेलियन डिफेन्डरले उनलाई डिबक्सभित्र रोक्न जालो बुनेका थिए। तर, अस्ट्रेलियाका उत्कृष्ट डिफेन्डर सुटरको खुट्टा मुनिबाट बल छिराउँदै मेसीले पहिलो सफलता दिलाएका थिए।

खेल समाप्त भएपछि चेञ्जिङ रुमतर्फ फर्किरहेका मेसीलाई अस्ट्रेलियाका खेलाडीहरूले कुरेर बसेका थिए। उनीहरूले मेसीसँग सेल्फी खिचेका थिए। मेसीसँग फोटो खिचाउँदा दंग परेका अस्ट्रेलियाका खेलाडीहरू पछि आफ्नो परिवारलाई मेसेञ्जरबाट फोटो पठाएका थिए।

जहाँ मेस्सी जन्मिए…

सत्तरी वर्षिया सुसना आरोस उनको बस्ती अहिलेजस्तो चर्चामा आउनुअघिका दुई कुरा सम्झन्छिन् : तास खेलिरहेका साथीसंगी र गल्लीमा कुदिरहेका बालबच्चाको आवाज । हल्ला गर्दै कुदिरहेका बच्चाको लक्ष्य कि त पोखरी हुन्थ्यो कि त उनीहरू बल वरिपरि झुम्मिएका हुन्थे ।

यही भिडमा आफ्ना दौँतरीभन्दा होचो एक फुच्चे केटो पनि हुन्थ्यो, जसले पछि गएर अर्जेन्टिनाको यस सानो गाउँलाई विश्वको भूगोलमा पहिचान दिलायो । ‘उ अरू बच्चाजस्तै थियो,’ आरोसले गाउँको त्यही सानो फुच्चे र अहिलेका विश्वका नामी फुटबल खेलाडी लियोनेल मेस्सीको सम्झना गर्दै भनिन् ।

मेस्सीको बाल्यकाल बितेको यो बस्ती ‘ला बजाडा’(जसको अर्थ भिरालो भन्ने हुन्छ)मध्यम आकारको रोसारियो सहरभित्र पर्छ । ‘उनी एकदम नरम थिए, अहिलेजस्तो छन् , त्यस्तै । उनी जीवनभर अहिले देखिए जस्तै रहे,’ बाल्यकालमा बस्तीका गल्लीमा मेस्सीसँगै बल कुदाएकी ३३ वर्षिया बारबारा सोसीले सम्झिइन् ।

मेस्सीले १३ वर्ष नपुग्दै रोसारियोको मुख्य स्थानीय क्लब ‘नेवेल्स ओल्ड बोईज’बाट ६ वर्ष खेलिसकेका थिए, जुन अवधिमा उनले झण्डै ५०० गोल हाने ।

उनले सोही क्लबमा देखाएको कलाको कारण युरोपको चर्चित क्लब बार्सिलोनाले उनी र उनको परिवारलाई अर्जेन्टिनाबाट स्पेन लग्यो । बार्सिलोनाले मेस्सीलाई आफूसँग लैजाँदा उनको शरीरमा देखिएको वृद्धि हार्मोनको कमीको पनि उपचार गर्ने कबुल गरेको थियो । त्यहीँबाट उनको बार्सिलोनामा २१ वर्षे करिअर सुरु भयो ।

बार्सिलोनामै मेस्सी विश्वव्यापी सुपरस्टारको रुपमा उदाए । मेस्सी क्लबमा रहँदा बार्सिलोनाले ३५ ट्रफी जित्यो, जसमा १० ला लिगा, सात कोपा डेल रे र चार युईएफए च्याम्पियन लिग ट्रफी थिए ।

मेस्सीले हालसम्म फुटबल जगतको शिर्ष पुरस्कार मानिने बालोन डी’ओर नै सात पटक जितिसकेका छन् । गत वर्ष मेस्सीको कप्तानीमा अर्जेन्टिनाको कोपा अमेरिका जित्यो ।

अहिले उनी पाँचौं विश्वकपमा खेलिरहेका छन्, जुन सम्भवतः उनको अन्तिम हुनसक्छ । उनले जित्न बाँकी ठुला ट्रफीमा यही विश्वकपको ट्रफी मात्र बाँकी छ ।

अर्जेन्टिनाको सानो गाउँ ‘ला बाजाडा’मा बिताएका जीवनका प्रारम्भिक १३ वर्षले मेस्सीको जीवनमा मात्र छाप पारेको छैन, यस बस्तीका गल्ली पनि मेस्सीको छाप पाइन्छ । धेरै अर्थमा मेस्सी अझै ‘ला बाजाडा’मै छन् जहाँका हरेक अग्ला भित्तामा मेस्सीका ठूलठूला पेन्टिङ देखिन्छ । साथै यहाँका गाउँले पनि मेस्सीलाई बिर्सिन सकेका छैनन् ।

मेस्सीका पूर्व प्राथमिक विद्यालय शिक्षक अझै चक बोर्डकै काममा तल्लीन छन् । र मेस्सी पढेको स्कुलमा अझै उनको मार्क निलो रेकर्ड बुकका पृष्ठमा अझै सुरक्षित छ । (जहाँ मेस्सीको बाहेक सबै पूर्व विद्यार्थीका ग्रेड रेकर्ड हुन्छन् ।)

कुनै समयका अभिभावक अहिले हजुरबुवा हजुरआमा भइसके । उनीहरू मेस्सी र तिनका सन्तान सँगै खेलेको सम्झन्छन् । मेस्सीका दौतरीहरु आफै अभिभावक भइसके, जो तिनको बालबालिकालाई मेस्सीको भित्ते चित्रलाई छेउ पारेर विद्यालय लैजान्छन् ।

‘मेस्सी र उनका दौँतरी हुर्किएपछि यहाँका गल्लीमा फुटबल खेल्न छाडियो । अर्को पुस्ताले बल खेल्नै छाड्यो ,’ आफ्ना छिमेकी ओल्गा डवीडोवीक्जको घरबाहिर उभिएर आरोसले भनिन् । मेस्सीको जन्मिएको गाउँमा अहिले आरोस र ओल्गाजस्ता वयोवृद्ध धेरै देखिन्छन् ।

हाल ७५ वर्षकी ओल्गा ५० वर्षदेखि यही गाउँमा बस्दै आएकी छन् । सन् १९७० को दशकको सुरुमा ओल्गा उनका श्रीमानसँगै अमेरिकाबाट तीन वर्षको लागि भनेर यहाँ आएकी थिइन् । तर बसाई लम्बिएर ५० वर्ष पुगिसक्यो । ओल्गा अमेरिकामा ला बाजाडामा घर बनाउने उदेश्यले एक पर्स उद्योगमा काम गर्थिन् ।

ओल्गा र आरोस तिनको वस्तीमा हुर्किएका मेस्सीको कुरा गर्दा उनका हजुरआमा सेलियालाई सम्झन्छन् । सेलियाले कोचहरूलाई जोडबल र भनसुन गरेर मेस्सीलाई सानै उमेरबाट खेल्न लगाएकी थिइन् ।

तर उनी मेस्सी १० वर्षको उमेरमा बितिन् । अहिले पनि मेस्सी गोल गरेपछि खुसी व्यक्त गर्दा आकाशतर्फ औला तेर्स्याएर उनै हजुरआमालाई धन्यवाद व्यक्त गरेको बताउने गर्छन् ।

मेस्सीकै बस्तीका अर्का बासिन्दा ६६ सेबास्टियन मुरुआ आफूले मेस्सीका पितालाई ‘उनीसँग हिरा भएको बताउने गरेको’ सम्झन्छन् । मुरुआ अवकास लिईसकेको भए पनि आफ्नो पेन्सनले परिवार धान्न गाह्रो भएपछि एक बेकरीमा काम गर्छन् ।

‘अहिले गाउँमा कुनै अन्तरिक्ष यानजस्तो चिल्लो कार देखियो भने त्यसको कालो सिसापछाडि लियो (मेस्सी) या त उनका परिवार सदस्य हुन्छन् । तिनलाई भेट्दा म बधाई दिने गर्छु । कतै भेट भयो भने उनीहरू पनि जीवनभर सँगै बसेझैँ गरी बोलाउँछन् ,’ मुरुआले हाँस्दै भने ।

पछिल्लो समय ला बाजाडा बस्ती रहेको रोसारियो सहरमा ड्रग्स युद्धका कारण हिस्सा उलेख्य बढेको छ । सहरमा हत्याको दर देशको औसत हत्या दरभन्दा चार गुणा बढि छ । वृद्ध पुस्ताले ‘ला बजाडा’ बाँकी सहरको तुलनामा शान्त मान्ने गरेपछि एक खालको असुरक्षा भावना व्याप्त छ ।

गाउँमा केही कुरा बदलिएका छन् भने केही कुरा उही रहेका छन् । मेस्सीको हाई स्कुलमा रहेको ठूलो निलो रेकर्डबूक अझै पनि विद्यालयको अफिसको दराजमा छ ।एक कार्यालय सहयोगीले रेकर्ड बुक तानेर त्यसमा रहेको मेस्सीको नाम देखाए । मेस्सी हाई स्कुलको पहिलो वर्ष नसकिँदै बार्सिलोना गएका थिए ।

‘उनले कहिल्यै पनि आफ्नो मुल जरा बिर्सिएनन् । अहिले पनि उनको लबजमा अर्जेन्टाईन महक आउँछ । उनी आफ्नो मुलुक र नगरलाई माया गर्छन् ,’ विद्यालयको प्रशासनमा काम गर्ने ४० वर्षे सिन्टिया भेगाले गर्वको भावमा भनिन् ।

मेस्सीले उनको एलिमेन्टरी शिक्षा एस्कुएला नम्बर ६६ जनरल लास हेरसमा पुरा गरेका थिए । उनको सम्पूर्ण प्राथमिक शिक्षा यहीँ सकिएकाले यस विद्यालयसँगको मेस्सीको सम्बन्ध गहन छ । मेस्सी १८ वर्षको उमेरमा सन् २००५ मा यस विद्यालय पुगेका थिए । विगत वर्षमा उनले यस विद्यालयका लागि थुप्रै अनुदान सहयोग दिए ।

ठुला प्रतियोगितामा देशका लागि ट्रफी जिताउन नसकेको कुरा मेस्सीको खेल जीवनको ठूलो बोझ रहँदै आएको छ । गत वर्ष कोपा अमेरिका जिताए सँगै उनको यस बोझ केही कम भएको छ । तर अपेक्षाको भार अझै पुरै हटिसकेको छैन ।मेस्सीले सन्यास लिनुअघि देशका लागि विश्वकप जिताउन् भन्ने अपेक्षा छ । र विश्वकपमा अर्जेन्टिना अझै कायम रहेकाले आशा जीवित नै छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *