काठमाडौं । कतारमा जारी फिफा विश्वकप फुटबमा आजबाट नकआउट चरणका खेलहरु हुँदैछ ।जसमा अर्जेन्टिनाले अष्ट्रेलियाको समाना गर्नेछ । उक्त खेल नेपाली समयअनुसार आज राति १२:४५ बजेबाट सुरु हुनेछ ।
अर्जेन्टिना र अष्ट्रेलियाले १५ वर्षपछि एकअर्कासँग खेल्दैछन् । पहिलो खेलमा साउदी अरेबियासँग १-२ गोलले पराजित भएको अर्जेन्टिनाले त्यसपछिका दुवै खेलमा मेक्सिको र पोल्याण्डलाई पराजित गर्दै अन्तिम १६ मा पुगेको हो ।
त्यस्तै डेनमार्कलाई हराएर नकआउटमा पुगेको अस्ट्रेलिया अर्जेन्टिनालाई हराएर अर्को अपसेट बनाउदै पहिलो पटक विश्वकपको क्वार्टरफाइनल पुग्न चाहन्छ ।क्वार्टरफाइनलमा विजेताले नेदरल्याण्ड्स र अमेरिकाबीचको खेलको विजेतासँग खेल्नेछ ।
विश्वकपमा दुवै टोली पहिलो पटक आमनेसामने हुँदैछन् । तर, अन्य अन्तर्राष्ट्रिय प्रतियोगितामा यी दुई देश सात पटक भिडेका छन् । जसमा अर्जेन्टिनाले पाँच र अष्ट्रेलियाले एक पटक जित हात पारेको छ भने एक खेल बराबरीमा सकिएको छ । पहिलो भिडन्त १९८८ मा भएको थियो, जसमा अष्ट्रेलियाले ४-१ ले जित्यो ।
त्यसैगरी सन् २००७ मा भएको अन्तिम खेलमा अर्जेन्टिना १-० ले विजयी भएको थियो भने १९९३ को विश्वकप छनोट प्लेअफमा, अष्ट्रेलियाले अर्जेन्टिनासँग १-१ को बराबरी खेल्यो, जुन टोलीमा दिग्गज डिएगो म्याराडोना पनि थिए । यता अस्ट्रेलियाको टोली २००६ को विश्वकपपछि प्रि-क्वार्टरफाइनल खेल्दैछ ।