बालेनलाई भीम रावलको प्रश्न `अमेरिकी राजदूतलाई भेट्नुअघि अनुमति लिएको हो ?

समाचार

काठमाडौं । नेकपा (एमाले)का नेता भीम रावल र काठमाडौं महानगरका मेयर बालेन शाहबीच रोचक सवाल–जवाफ भएको छ । बिहीबार नेपालस्थित अमेरिकी दूतावासका राजदूतसँग भएको बालेनको भेटलाई लिएर उनीहरूबीच सामाजिक सञ्जालमा सवाल–जवाफ भएको हो ।रावलले अमेरिकी राजदूतसँग भेट्नुअघि परराष्ट्र मन्त्रालयबाट अनुमति लिएको हो कि होइन भनेर बालेनलाई प्रश्न गरेका थिए ।

शुक्रबार सामाजिक सञ्जालमै रावलले लेखेका थिए, “नेपालको परराष्ट्र सम्बन्ध संघीय सरकारको मातहतमा रहने संविधानको स्पष्ट व्यवस्था छ । कामपाका प्रमुख बालेन शाहले अमेरिकी राजदूतसँग भेटवार्ताबारे विषय जानकारी गराई परराष्ट्र मन्त्रालयबाट अनुमति लिएको हो कि होइन ? स्पष्ट गरियोस् । संविधान र स्वाधीन देशको स्वाभिमान र मर्यादाको रक्षा गरौँ ।”

उनले अगाडि लेखेका थिए,”परराष्ट्र सम्बन्ध जस्तो संवेदनशील विषयमा संविधान र कानूनको पद्धति मिचेर जुन कार्यालय वा निकाय प्रमुखलाई जतिबेला जो विदेशीसँग भेटवार्ता गर्न मन लाग्यो आाफूखुसी गर्ने संसारमा कहीं नभएको अभ्यास नेपालमा किन संक्रमणकालीन गठबन्धन सरकार ? जनउत्तरदायी हौ भने जवाफ देऊ ।”

जवाफमा बालेनले अमेरिकी राजदूतले आफूलाई पटकपटक भेट्न चाहेको तर आफूले परराष्ट्र मन्त्रालयबाट अनुमति लिएर आउन भनेपछि उनी अनुमति लिएर आएपछि मात्र भेट्न दिएको बताएका छन् ।

“अमेरिकी राजदूतले हामीसँग पटक पटक भेट्न खोज्दा हामीले चाहिँ बरु उल्टै उहाँलाई परराष्ट्र मन्त्रालयबाट अनुमति लिएर आउनुस् भनेका हौं र उहाँले अन्तिममा परराष्ट्र मन्त्रालयबाट अनुमति लिएर आएपछि मात्र हामीले भेट्ने अनुमति दिएका हौँ,” बालेनले भनेका छन् ।

साथै उनले अमेरिकी राजदूतले गरेको आर्थिक सहयोगको प्रस्ताव आफूहरूले अस्वीकार गरेको पनि बताएका छन् । बरु अमेरिकामा नेपाली सभ्यता झल्काउने मन्दिर बनाउन आफूहरू सहयोग गर्न तयार रहेको बताएको बालेको भनाइ छ ।

उनले अगाडि लेखेका छन्, “हामीलाई तपाईंहरू जस्तो विदेशीसँग सहयोग माग्ने कुनै रहर छैन । उहाँले हामीलाई आर्थिक सहयोग गर्ने प्रस्ताव लिएर आउनुभएको थियो । तर हामीले हामी चाहिँ अमेरिकामा नेपाली सभ्यता झल्काउने मन्दिर अथवा पाटी पौवा बनाइदिन सहयोग गर्छौं भनेर पठाएका छौँ । र, थप एमसीसीमार्फत विद्युत विदेशीलाई बेच्ने भन्दा पनि त्यो विद्युत नेपाल मै प्रयोग गरेर आर्थिक उन्नति गर्नु पर्छ भन्ने धारणा व्यक्त गरेका छौँ ।”

बिहीबार बालेन र नेपालका लागि अमेरिकी राजदूत डीन आर. थम्पसनबीच महानगरको कार्यालयमा भेटवार्ता भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *