बिक्रीमा ! बिक्रीमा ! बिक्रीमा ! रोनाल्डो बिक्रीमा !

खेलकुद

दोहा — बिक्रीमा छन् ‘क्रिस्टियानो रोनाल्डो’ । तिनै रोनाल्डोले पोर्चुगलका लागि बिहीबार आफ्नो पाँचौं तथा सम्भवतः अन्तिम विश्वकप खेलिरहेका छन्। यी ३७ वर्षीय मंगलबार रातिबाट क्लबविहीन भएका छन् । म्यानचेस्टर युनाइटेडले उनीसँगको अनुबन्ध तोडेको छ ।

कारण स्पष्ट छ, केही दिनअगाडि उनले अन्तर्वार्ता दिने क्रममा म्यानचेस्टरका व्यवस्थापक एरिक टेन हाग, क्लब मालिक र आफ्ना अधिकांश सहकर्मीको अचम्मले खेदो खनेका थिए ।अहिले तत्कालका लागि उनलाई किन्न सक्ने टिम कोही पनि छैन । हुनसक्छ, यस विश्वकपमा राम्रो प्रदर्शन गर्न सक्यो भने उनका सम्भावित क्रेता पनि अगाडि आउनेछन् ।

तर, सबैलाई लागिरहेको छ, पाँचपल्टको बालोन डी’अर विजेता रोनाल्डोले आफ्नो खेलजीवनका सबै राम्रा दिन पछाडि छाडिसके । भलै, उनले अहिलेसम्म गोल गर्ने कला भने बिर्सेका छैनन् । क्लब र खेलाडीबीचको आपसी सहमतिमा अनुबन्ध तोड्ने निर्णययता रोनाल्डोले पहिलोपल्ट मिडियासामु बोलेका छन् ।

उनी भन्छन्, म्यानचेस्टरसँगको कचमचले पोर्चुगलका लागि उनको प्रदर्शनमा केही फरक पर्ने छैन । तर त उनी कुनै प्रकारले टिममा व्यवधान पुर्‍याउन चाहन्छन् । पोर्चुगल आफैंले भने स्टेडियम–९७४ मा हुने समूह चरणको खेलमा घानाको सामना गर्दै छ ।

तय के छ भने यी सबै पृष्ठभूमिमा रोनाल्डो आफ्ना आलोचकलाई शान्त पार्न अझ राम्रो खेल्न प्रेरित रहन सक्छन् । उनी पक्कै पहिलोपल्ट विश्वकप जित्न चाहन्छन् । यसले उनको सम्भावित क्रेता पनि तयार पार्नेछ । दोहा झरेयता उनले भनेका छन्, ‘यो पोर्चुगाली टिमलाई केहीले पनि हल्लाउन सक्ने छैन ।’

‘इतिहास रचेकोमा गर्व लाग्छ’ – रोनाल्डो

पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोले लगातार पाँचौ विश्वकपमा गोल गर्ने उपलब्धि हासिल गर्न सकेकोमा आफूलाई गर्व लागेको बताएका छन् । घानाविरुद्ध जितमा रोनाल्डो खेलको प्लेयर अफ द म्याच चुनिएका थिए । उनले पेनाल्टीमा गोल गर्दै पोर्चुगललाई अग्रता दिलाएका थिए ।

पाँचौ विश्वकप खेलिरहेका उनी सबै पाँच संस्करणमा गोल गर्ने पहिलो खेलाडी समेत बने । उनले यसअघि सन् २००६ देखि २०१४ सम्म १-१ गोल र सन् २०१८ मा ४ गोल गरेका थिए ।

घानाविरुद्ध रोनाल्डोमाथि पेनाल्टी क्षेत्रभित्र फल गरेपछि पोर्चुगलले पेनाल्टी पाएको थियो । रोनाल्डोले उक्त पेनाल्टीमा गोल गर्दै विश्वकपको आठौं गोल गरे । पोर्चुगलले ३-२ को रोमान्चक जित हासिल गर्दा रोनाल्डो ८८ औं मिनेटसम्म मैदानमा रहे । उनको स्थानमा गोन्कालो रामोस मैदान छिरेका थिए ।

खेलपछि बोल्दै रोनाल्डोले आफ्नो लागि यो क्षण विशेष रहेको बताए । ‘यो विशेष क्षण हो । मेरो पाँचौ विश्वकप हो र पाँचौ विश्वकपमा गोल गर्दै इतिहास रच्न सकें । म निकै गर्व महसुस गरिरहेको छु । पहिलो खेलमा जित हासिल गर्नु महत्त्वपूर्ण थियो । हाम्रो टोलीले राम्रो खेल्यौं,’ रोनाल्डोले भने ।

रोनाल्डोले यसै साता मात्र म्यानचेस्टर युनाइटेडसँग आपसी समझदारीमा सम्झौता रद्द गरेका थिए । रोनाल्डोले युनाइटेडसँगको कुरा सकिएको र अब विश्वकपमा ध्यान दिने बताए ।

‘यो साता हामीले विश्वकपमा राम्रो सुरुवात गर्नु थियो । त्यसमा हामी सफल भएका छौं । बाँकी सबै कुरा सकिसकेको छ । अब हाम्रो ध्यान विश्वकपमा छ । आज राम्रो सुरुवात भयो र अब अघि पनि त्यसैलाई निरन्तरता दिनेछौं,’ उनले टुंग्याए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *