काठमाडौँ । प्रतिनिधि सभा र प्रदेशसभाको निर्वाचनमा प्रत्यक्षतर्फको अन्तिम परिणाम धमाधम सार्वजनिक भइरहेको छ । गठबन्धको बलमा प्रधानमन्त्री शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओली फराकिलो मतान्तरले विजयी भएका छन् ।
एमालेको साथ पाउँदा पनि जसपा अध्यक्ष उपेन्द्र यादवले भने सीके राउतबाट नराम्रोसँग पराजय बेहोरेका छन् । रोचक त के भने पुराना दललाई स्तब्ध बनाउँदै भर्खर जन्मिएको राष्ट्रिय स्वतन्त्र पार्टीले आश्चर्यजनक उपस्थिति जनाएको छ । काठमाडौं जिल्लाका १० क्षेत्रमध्ये कांग्रेस ५ र स्वतन्त्र पार्टी ४ ठाउँमा विजयी हुँदा एमालेले एक स्थानमा चित्त बुझाउनुपरेको छ । ललितपुरमा पनि स्वतन्त्र पार्टीबाट तोसिमा कार्कीले व्यापक मतान्तरले सत्ता र विपक्षी गठबन्धनलाई जिल्याइदिएकी छन् ।
कसरी यो सम्भव भयो र यसले के संकेत गरिरहेको छ त ?
अहिलेको मत प्रवृत्ति केलाउनुअघि एकफेर २०६४ को संविधानसभा निर्वाचनको नतिजा पल्टाऔँ । खासमा एमालेले काठमाडौं उपत्यकालाई आफ्नो गढ मान्थ्यो । २०६४ मा त उसले भर्खरै शान्ति प्रक्रियामा आएको माओवादीलाई हेपेर उसको अस्तित्व नै स्वीकारेको थिएन । माओवादीले बाम दल एक ठाम हुनुपर्ने भनेर सहकार्यका लागि हात बढाउँदा पनि एमाले नेतृत्वले त्यतिबेला उपत्यकाको १६ औं सिटमा मात्र तालमेल हुन्छ भनेर दम्भ प्रदर्शन गरेको थियो ।
एमालेलाई त्यो हदसम्मको अहंकार दिलाउने काठमाडौँ उपत्यकाले पटकपटक नराम्रोसँग सबक सिकाएको छ । एमालेलाई मात्र होइन, हरेक शक्तिको दम्म र अहंकारलाई घुँडा टेकाएको छ । २०६४ कै चुनाव हेर्ने हो भने पनि काठमाडौं २ मा तत्कालीन एमाले महासचिव माधव नेपाललाई पराजयको स्वाद चखाएको थियो । माओवादीका सामान्य कार्यकर्ता झक्कु सुवेदीले नेपालको घमण्डलाई चूर बनाएका थिए ।
त्यतिखेर नेपाल रौतहटबाट पनि पराजित भएका थिए र एमालेले काठमाडौं उपत्यकामा कतै पनि विजय मनाउन नपाएपछि बागमती अञ्चलभरिमा अबिरजात्रा गर्न पाउने ठाउँ काभ्रे ३ बन्न पुगेको थियो ।हाल क्षेत्र नं २ रहेको क्षेत्रले कुनै बेला मदन भण्डारी, प्रदीप नेपाल, विद्या भण्डारी र माधव नेपालजस्ता नेतालाई जिताएको थियो । तर बारम्बार एमाले नेतृत्वले काठमाडौँका जनतालाई हेप्ने काम गर्यो । काठमाडौँवासीको विवेकको अवमूल्यन गर्यो । राजधानीका सचेत मतदातालाई झुक्याउने काम गर्यो ।
एमाले नेतृत्वले आफू सरकारमा गएपछि पारदर्शितामा विश्वास गरेन । अध्यक्ष केपी शर्मा ओली र उनका वरिपरि भेला भएका व्यक्तिहरुले सरकार र जनताबीचको सम्बन्ध नै टुटाइदिए । ओलीनिकटका केही नेता र व्यापारी मिलेर राज्यको नीतिमा चलखेल गरे । सार्वजनिक प्रशासनलाई निजी स्वार्थको हतियार बनाए । सिंहदरबार र बालुवाटारमा बसेर गरिने त्यस खालका व्यवहारका नजिकका साक्षी काठमाडौँवासी हुन् । त्यसैले एमाले नेतृत्वलाई उचितरुपमा दण्डित गर्नैपर्ने थियो । यो चुनाव उपयुक्त समय बनेर आयो ।
हुन त गत स्थानीय चुनावमा पनि काठमाडौँवासीले एमाले नेतृत्वको व्यवहारलाई लिएर लौरोले हिर्काएकै हुन् ।बोली र आचरणमा शीलशून्य केशव स्थापितजस्ता आउटडेटेड उम्मेदवार दिएर काठमाडौँ महानगरवासीलाई एमाले नेतृत्वले हेपेको थियो । त्यसबाट पाठ सिक्नुको साटो, जनतासँग माफी माग्नुको साटो उल्टै आफूले जे गर्दा पनि हुन्छ भन्ने शैलीमा सर्वेन्द्र खनाल र नवराज सिलवालजस्ता विवादित पूर्वप्रहरी अधिकारीको सुरक्षाका निम्ति एमालेजस्तो संगठनको छाता प्रयोग गरिदियो । युवाका नाममा काठमाडौँ–१ मा कसैले नचिनेका र कुनै व्यक्तित्व पनि नभएका किरण पौडेललाई उठायो । यसको परिणति चुनावको नतिजामा देखियो ।
काठमाडौँ–२ मा भर्खर जन्मिएको स्वतन्त्र पार्टीकी उम्मेदवार २७ वर्षीया सोविता गौतमले १५ हजार २२९ मत ल्याएर जित्दा एमालेका मणिराम फुयाँल दोस्रो भए । उनले ११ हजार ५५५ मत ल्याए । हुन त पाँच दलीय गठबन्धनले ठूलै शक्ति लगाउँदा पनि पूर्वसभामुख एवं माओवादी नेतृ ओनसरी घर्ती राष्ट्रिय प्रजातन्त्र पार्टीभन्दा पनि पछि पर्नुपर्यो ।
२०४८, २०५१, २०५६, २०७० र २०७४ मा एमालेलाई नै रोजेको काठमाडौं–३ ले २०६४ र २०७९ मा हार चखाइदिएको छ । कांग्रेस गठबन्धनका तर्फबाट गोकर्णेश्वर नगरपालिकाका पूर्वमेयर सन्तोष चालिसेले १५ हजार १५८ मत ल्याएर जित्दा एमालेका कृष्णबहादुर राईले ११ हजार १९६ मतमा खुम्चिनुपर्यो । त्यतिमात्र होइन यहाँ प्रदेशसभाका दुवै सिट पनि एमालेले गुमायो ।
अघिल्लो निर्वाचनमा एमालेले काठमाडौं उपत्यकाका १५ मध्ये ९ स्थान जितेको थियो । यसपाली लाजमर्दो तरिकाले खुम्चन पुगेको छ । काठमाडौं ९ र ललितपुर २ बाहेक सबै सिटमा उसलाई पराजय हात परेको छ।
त्यसो त यसपालि कांग्रेसले काठमाडौँ कब्जा गर्न सञ्चार रणनीतिमा पनि निकै काम गरेको देखियो । ओली, उनका सहयोगी र समग्र एमालेको दानवीकरण गर्न कांग्रेसका सबै फाँटबाट एकढिक्का भएर काम गरेको देखियो । मूलधारका सञ्चार माध्यमले गगन थापाका पक्षमा चलाएको अभियान अनि विश्व बैंक र एमसीसीवाला विज्ञहरुको भाषण शृंखलाले पनि कांग्रेसका पक्षमा माहोल बनाउन राम्रै काम गर्यो ।
यसले स्वतन्त्र पार्टीको सुनामीबाट कांग्रेसलाई केही हदसम्म भए पनि जोगायो । स्वतन्त्र पार्टीले काठमाडौं २, ६, ७, ८ मा जित हात पारेको छ भने कांग्रेसले अघिल्लोपटक जितेको काठमाडौँ ६ गुमाएर ५ र ३ थपेको छ । उसले आफ्नो पोल्टामा पाँचवटा क्षेत्र पारेको छ । ललितपुर १ पनि कांग्रेसले एमालेबाट खोस्न सफल भएको छ ।
काठमाडौं र ललितपुरका सहरी क्षेत्रका मतदाता परम्परागत राजनीतिक शक्तिप्रति रुष्ट रहेको गत स्थानीय तहको निर्वाचनले नै देखाएको हो । तर राजधानीवासीको मनोविज्ञान एमालेले बुझ्नै सकेन । परम्परागत शक्तिप्रति मतदातामा रहेको रोष र वितृष्णाको फाइदा कुनै वैचारिक र सांगठनिक आधार नभएको स्वतन्त्र पार्टीले उठायो।
के एमाले नेतृत्व अझै आत्मश्लाघा र अहंकारमै रमाउने कि युवा नेतृत्व अनि विभिन्न पेसागत क्षेत्रका प्रतिभाहरुलाई पत्याएर जिम्मेवारी सुम्पिने ? अनि एमाले कार्यकर्ताहरूले पनि नेतृत्वको भजन मात्र गाउने कि गगन थापा शैलीमा हस्तक्षेपकारी अभियानमार्फत् नयाँ एमाले निर्माणमा लाग्ने ?