कतारमा जारी फिफा विश्वकप फुटबल २०२२ अन्तर्गत आज भएको जर्मनी र जापानबीचको खेलमा जापान बिजयी भएको छ । जापानले चार पटकको च्याम्पियन जर्मनीलाई २–१ ले स्तब्ध पारेको छ । जापानले पहिलो हाफमा एक गोलले पछि परेको नतिजा उल्टाउँदै जर्मनीमाथि शानदार जितसहित विश्वकप सुरु गरेको हो ।
उपाधिको मुख्य दाबेदार रहेको जर्मनीले भने पहिलो खेलमै पराजय भोगेको छ । खेलको पहिलो हाफमा जापानमाथि अग्रता लिएको जर्मनीले खेलको ३३ औं मिनेटमा गोल गरेको थियो । जर्मनीका लागि इल्के गुन्डोगनले पेनाल्टी मार्फत गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए ।
जर्मनीले खेलको ४५ औं मिनेटमा दोश्रो गोल गरेको भएपनि भीएआर चेकपछी अफसाइड गोल भएकाले खारेज गरिएको थियो । समूह ‘ई’ मा रहेको जर्मनी र जापानबीचको खेल नेपाली समय अनुसार साँझ ६ः४५ बजे सुरु भएको थियो । जापान र जर्मनीबीच खेल कतारको खलिफा अन्तर्राष्ट्रिय स्टेडियममा भएको थियो । खेलको दोश्रो हाफमा दुवै टिम आक्रामक रुपमा प्रस्तुत भएका थिए ।
जापानले खेलको ७५ औं मिनेटमा गोल गर्दै खेललाई बराबरीमा पुर्याएको थियो । जापानका लागि रित्सु डोनले गोल गरेका थिए । त्यस्तै खेलको ८३ औं मिनेटमा गोल गर्दै जापानले अग्रता लिएको थियो । जापानका लागि ताकुमा असानीले गोल गरेका थिए ।