मतपेटिका पुर्‍याएर फर्किंदै गरेकाे जीप दुर्घटना हुँदा बैतडीमा ४ प्रहरीको मृत्यु

समाचार

काठमाडौं । बैतडीको पाटनमा मतपेटिका पुर्‍याएर फर्किंदै गरेको प्रहरी सवार जिप दुर्घटना ४ जना प्रहरीको मृत्यु भएको छ ।पाटन नगरपालिका थुम भन्ने स्थानमा बा १ ८५४ नम्बरको जिप आज बिहान दुर्घटना हुँदा घटनास्थलमा ४ जनाको मृत्यु भएको हो ।

बैतडीका प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीका अनुसार ४ जनाको शव निकालिसकेको र थप मृत्यु भएको पुष्टि हुन बाँकी छ ।जिप सडकबाट करिब २ सय मिटर तल खसेको छ । उक्त जिपमा १४ जना सवार थिए । उनीहरु मतपेटिका पुयाएर फकँदै थिए ।

वैकुण्ठधाममा मेला लाग्ने

चितवनको माडीस्थित वैकुण्ठधाममा बालाचतुर्दशीको अवसरमा मेला लाग्ने भएको छ ।मङ्गलबार बालाचतुर्दशीका दिन माडी नगरपालिका–६ स्थित वैकुण्ठधाममा मेला लाग्ने भएको हो । आफ्ना बुबाआमा नहुनेले पितृको मोक्ष प्राप्तिका लागि बालाचतुर्दशीको अघिल्लो दिन रातभर भजनकीर्तन गरी भोलिपल्ट बिहान वैकुण्ठधाम क्षेत्रमा शतबीज छर्ने र स्नान गर्ने प्रचलन रहेको छ ।

वैकुण्ठधाममा यस वर्ष बृहत् सांस्कृतिक कार्यक्रमको अयोजना गरिने भएको छ । विभिन्न जनजातिको झाँकीसहित स्थानीय कलाकारको प्रस्तुति रहने मेला व्यवस्थापन संयोजक राजकुमार परियारले जानकारी दिनुभयो । उहाँका अनुसार मेलामा आउनेले शतबीज छर्नुका साथै वैकुण्ठ ताल अवलोकन, माडीको पहिलो झोलुङ्गे पुल अवलोकन विभिन्न परिकारका खानेकुराको स्वाद लिन पाउनेछन् ।

धार्मिक पर्यटनको विकास र प्रवद्र्धनमा मेलाले टेवा पुग्ने उहाँको विश्वास छ । मङ्सिर कृष्ण चतुर्दशीका दिन परिवारभित्रका सदस्यको दिवाङ्गत आत्माको चिरशान्तिको कामना गर्दै धान, जौ, तिल, गहुँ, चना, मकै, कागुनो मिश्रित शतबीज मन्दिर वरपर छर्ने चलन छ । यसो गर्नाले पितृलाई अन्नको कमी नहुने र उनीहरुले सद्गति प्राप्त गर्ने धार्मिक विश्वास छ । मङ्सिर कृष्ण त्रयोदशीका दिन साँझबाट भोलिपल्ट सद्बीज छर्ने बेलासम्म आफ्ना पितृको नाममा बत्ती बाल्ने गरिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *