बर्दी लगाएर टिकटक बनाउँदै म्यादी प्रहरी, मापदण्डले सही भन्छ या गलत?

समाचार

म्यादी प्रहरीको बर्दी लगाएर बनाएको एउटा भिडिओ स्थानीय तहको निर्वाचनको सेरोफेरोमा भाइरल भयो। सागर बसन्ते किस्ने सबहरू हन नडरा के तिमीहरू। किन डराको छस्। तेरो दाइ मिदी भइसक्यो। उक्त भिडिओमा सुनिएको आवाजमाथि कसैले मिम बनाए त कसैले टिकटक। कतिले भने त्यसरी भिडिओ बनाउनुलाई म्यादी प्रहरी पोसाकको दुरुपयोगको संज्ञा दिए।

सामाजिक सञ्जालहरूमा हाँसो र प्रश्नको विषय बनेपछि उक्त भिडिओ बनाउने व्यक्तिबारे छानबिन भयो। अन्ततः उनले म्यादी प्रहरी रहेका आफन्तको पोसाक दुरुपयोग गरेको पुष्टि भयो।सम्बन्धित व्यक्तिलाई कारबाहीको दायरामा ल्याएको जानकारी प्रहरीले सार्वजनिक गर्‍यो।यद्यपि, उक्त आवाजमा भिडिओ बनाउने क्रम रोकिएको भने छैन। आसन्न प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनका लागि भर्ना भएका म्यादीहरूले समेत बर्दीमै ठाँटिएर भनिरहेका छन्- तेरो दाइ मिदी भइसक्यो।
मिस पूजा नामक टिकटक प्रयोगकर्ताले उक्त आवाज प्रयोग गरेर भिडिओ बनाएकी छन्। जसमा उनीसहित तीन जना म्यादी प्रहरी बर्दीमा देखिन्छन्। उनीहरू घाँटीमा परिचयपत्रसहित नाचेको भिडिओ करिब १५ हजार पटक हेरिएको छ।

उसो त म्यादी प्रहरीको भूमिका निर्वाह गरिरहेका केहीले राष्ट्र भाव झल्कने वा देशको लागि खटिरहेको सन्देश दिने गीतमा समेत भिडिओ बनाएका छन्। यद्यपि, आचारसंहिता र मापदण्ड पालना सम्बन्धी सर्तले म्यादी प्रहरीहरूलाई पोसाकमा कुनै पनि किसिमको भिडिओ बनाइ सामाजिक सञ्जालमा सार्वजनिक गर्न निषेध गरेको बताउँछन् केन्द्रीय प्रहरी प्रवक्ता, प्रहरी नायव महानिरीक्षक टेकप्रसाद राई।

“सीमित समयको लागि भए पनि उहाँहरू प्रहरी नै हो। उहाँहरूलाई पनि नेपाल प्रहरी सरह आचारसंहिता लागू हुन्छ। त्यसरी टिकटक बनाउनु वा जथाभाबी सामग्री सम्प्रेषण गर्नु नियम विपरीत कार्य हो,” राईले बीबीसीसँग भने। ‘भर्ना छनोट, नियुक्ति तथा परिचालनसम्बन्धी मापदण्ड–२०७९’ मा म्यादीले काममा खट्दा मर्यादा बाहिर गएर निर्वाचनसम्बन्धी धारणा राख्न र अनावश्यक सामग्री साझा गर्न नपाउने उल्लेख गरिएको उनले बताए।

प्रहरी नायव महानिरीक्षक टेकप्रसाद राईका अनुसार म्यादी प्रहरीहरूले सामाजिक सञ्जालमार्फत विभिन्न सामग्रीहरू सार्वजनिक गरेकोबारे सूचना प्राप्त भइरहेका छन्। यद्यपि, हालसम्म उनीहरूमध्ये कोही पनि जिम्मेवारीबाट बरखास्त नभएको बताए।
“नगर्नु भनेको काम गर्ने म्यादी प्रहरीलाई प्रमाणपत्र दिँदैनौँ। तर कामबाट निकाल्दैनौँ किनकि निर्वाचन सुरक्षित ढङ्गमा सम्पन्न गराउन छनौट भएकाहरूलाई निष्कासन गर्दा हामीलाई जनशक्ति पर्याप्त नहुन सक्छ,” उनले भने।

गम्भीर प्रकृतिको गल्ती वा मापदण्ड उलङ्घन गर्नेहरूमाथि भने छानबिन र कारबाही हुने उनले जिकिर गरे।“बहाल सकिएपछि प्रमाणपत्र प्राप्त नहुने थाहा पाएपछि धेरै जना संयमित भएका छन्। किनकि उक्त प्रमाणपत्र नेपाल प्रहरीमा भर्ना पाउनदेखि विदेशमा सुरक्षा गार्डको जिम्मेवारी पाउन निकै महत्त्वपूर्ण हुन्छ,” प्रवक्ता राईले बताए। नेपाल प्रहरीका अनुसार “व्यावसायिक आचरणविरुद्ध” गतिविधिमा संलग्न भएको आरोपमा स्थानीय तहको निर्वाचनमा खटेका ४६ जना म्यादी प्रहरीमाथि कारबाही भएको थियो।

निर्वाचन सुरक्षाका निम्ति देशभर म्यादी प्रहरी आह्वान गर्दा २ लाख ३४ हजार ३ सय ६२ दरखास्त प्राप्त भएको नेपाल प्रहरी प्रधान कार्यालयले जनाएको छ। तीमध्ये १ लाख १५ हजार छनौट भए। हाल खटिएका कुल म्यादी प्रहरीहरूमध्ये ३० हजार ६ सय ३२ जना महिला छन्। काठमाण्डूमा ३,२७८, ललितपुरमा १,३०८ र भक्तपुरमा ८८७ जना म्यादी सक्रिय रहेको जनाइएको छ।

“आवेदन दिनेको उल्लेख्य सङ्ख्याले सुरक्षा निकायप्रति आम युवाको आकर्षण पुष्टि गर्छ। मास्टर्स गरेकादेखि अन्य पेसामा आबद्धहरू समेत म्यादीको जिम्मेवारी बहन गरिरहेका छन्। उनीहरूलाई प्रहरीले कसरी काम गर्छ बुझ्नु छ,” राईले भने।

प्रायले सुरक्षा निकायको “अनुशासन, त्याग र मेहनतबारे चाख राखेर” म्यादीमा आवेदन दिएको उनको धारणा छ।म्यादी प्रहरी बन्न विद्यार्थी तथा अन्य युवाले तँछाडमछाड गर्दै आवेदन दिनुलाई कतिले बेरोजगारी र आर्थिक अभावसँग सम्बन्धित विषय भएको बताएका छन् भने केहीले यसलाई अवसरसँग जोडेर विश्लेषण गरेका छन्। “महामारीपछि मानिसहरूलाई खर्च जुटाउनका लागि समस्या थियो। थुप्रै युवाका लागि यो आकर्षक अवसर बनेको छ,” महानगरीय प्रहरी परिसरका एसपी दिनेश मैनालीले यसअघि स्थानीय तहको निर्वाचनको बेलामा बीबीसीसँग भनेका थिए।

छैटौँ पटक म्यादी प्रहरी बन्ने प्रतीक्षामा ५१ वर्षीय शिव राउत
३ एप्रिल २०२२
कस्ता छन् जिम्मेवारी?
यसरी सीमित समयका लागि रोजगार सिर्जना गर्नुभन्दा नेपाल प्रहरीकै सङ्ख्या बढाउनु पर्नेमा जोड दिन्छन् प्रहरी नायव महानिरीक्षक राई। तर अल्पकालीन आवश्यकता पूर्तिका निम्ति म्यादी प्रहरी भर्ना गर्नुले निर्वाचन सुरक्षामा योगदान पुर्‍याएको उनको ठहर छ।

“उनीहरूको मूल जिम्मेवारी प्रहरीको कमान्डमा शान्ति तथा सुरक्षा कायम गर्न खट्नु हो,” उनले भने।

उनीहरूले काजमा विकट ठाउँहरूमा खट्ने नेपाल प्रहरी, ट्राफिक प्रहरी, सशस्त्र प्रहरीलगायतको आवश्यकता पूर्ति गरिरहेका छन्। सवारी साधनको चाप भएको स्थानहरूमा म्यादी प्रहरीले नै ट्राफिक व्यवस्थापनमा साथ दिइरहेको बताउँछन् ट्राफिक प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्ट।

निर्वाचनका निम्ति करिब १,३०० ट्राफिक प्रहरीहरू काठमाण्डूबाट अन्यत्र खटिएका छन्। त्यसैले अहिले उपत्यकामा करिब ४०० जना ट्राफिक प्रहरी सक्रिय छन्।

म्यादी प्रहरीलाई धेरैले रोजगारीको अवसर र आमदानीको स्रोतको रूपमा लिएका छन्। उनीहरूले चालिस दिनसम्मको लागि ३४,७६० र खाजा खर्च ७,२०० रुपैयाँ प्राप्त गर्नेछन्।

त्यसबाहेक तोकिएको पोसाक तथा यातायात खर्चलगायत विविध विषयमा गरी कुल ५० हजार १ सय ६० रुपैयाँ पाउने छन्।

उल्लेखित रकम गत स्थानीय तह निर्वाचनको तुलनामा करिब ‍६ हजार रुपैयाँ बढी हो। हिमाली जिल्लामा खट्नेहरूलाई न्यानो लुगाका निम्ति एक हजार थप दिइने जनाइएको छ।

समाजशास्त्री टीकाराम गौतमले म्यादीको हकमा “सेवाको अवधिभन्दा पनि श्रम लगानी गरेबापत राज्यले दिने तलब महत्त्वपूर्ण पाटो बनेको” विचार राखे।

चुनावमा ‘कालो धन’ प्रयोग हुन नदिन सरकारी निकाय ‘सतर्क र चनाखो’
‍”युवाले देशमै काम चाहिँ खोजिरहेका छन् तर उनीहरूको रुचि, क्षमता र आवश्यकता अनुसार काम पाएका छैनन्। त्यसैले जस्तो अवसर खुल्दा पनि भिड हुन्छ,” उनले भनेका छन्।

उनको तर्कलाई आड दिने गरी टिकटक बनाएका छन् रोशन खातीले जसमा भनेका छन्,”हो म म्यादी हो। तर त्यसमा हाँस्नु पर्ने कुराहरू केही छैन। म अरू जसरी बाबाआमाको सम्पत्तिमा रमाएको छैन। जे गरे पनि आफ्नो मेहनतमा कमाइरहेको छु।”

उनले ४० दिन भए पनि देशको सेवा गर्न पाउनुमा खुसी रहेको जनाएका छन्। उनको भिडिओ चालिस हजारभन्दा बढी पटक हेरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *