गायक प्रमोद खरेललाई लेवनानको अध्यागमनले नियन्त्रणमा लिएको छ।सांस्कृतिक कार्यक्रमका लागि साइप्रस जाने क्रममा उहाँलाई लेवनान अध्यागमनले रोकेको हो। उहाँसँगै अर्का कलाकार बादल थापालाई पनि अध्यागमनले रोकेको छ।
राजधानी बेरुतस्थित रफिक हरारी अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमनका कर्मचारीले शनिबार राति खरेल र बादलको साइप्रस यात्रा रोकेका हुन्।
गायक खरेल र बादल कतारको दोहाबाट बेरुत हुँदै लार्नाका लागि उड्नुभएको थियो । उहाँहरुको बेरुतबाट बेलुका ८स्४५ बजे लार्नाका उड्ने तालिका थियो। तर, विमानस्थलमा खटिएका अध्यागमनका कर्मचारीले उहाँहरुलाई उडान अनुमति दिएनन्।
स्रोतले दिएको जानकारीअनुसार अध्यागमनका कर्मचारीले उनीहरुको भिसामा शंका गरेका छन्। त्यसो त आयोजकले उहाँहरुलाई काठमाडौंबाट दोहा हुँदै सिधै लार्नाका उडानको व्यवस्था गरेको थियो।
तर, उडानको अन्तिम समयमा काठमाडौं विमानस्थमा कतार एअरवेजको जहाजमा प्राविधिक समस्या आएपछि दोहा उडान ‘डिले’ भएको थियो। जसकारण उनीहरुलाई कतार एअरवेजले नै ‘ट्रान्जिट रि–सेड्युल’ गरेर दोहाबाट बेरुत हुँदै लार्नाका उड्ने व्यवस्था मिलाएको थियो।