डिभोर्स पछी संकर क्षेत्री भन्छन- ‘मिल्न धेरै कोसिस गरेको हो तर…
जेरीको उक्त अन्तर्वार्तालाई लिएर शंकर क्षेत्रीले असन्तुष्टि प्रकट गरेका छन् । उनले ‘जे हुनु भइसकेकाले मिडियामा रोएर बोल्न आवश्यक नरहेको’ बताए ।सम्बन्धविच्छेदपछि आफूहरुको अदालतमा केही सहमतिहरु भएको गायक क्षेत्रीको भनाइ छ ।
उनी भन्छन्, ‘मिल्न धेरै कोसिस गरेको हो । तर, जति कोसिस गरे पनि नभएपछि के नै गर्न सकिन्छ र ? अदालतमा समझदारी भयो । बच्चाको लालनपालन, शिक्षा-दीक्षादेखि लिएर अंशसम्म दिने सबै मेरो भागमा परेको छ । बच्चाकोे उमेर सानो भएकाले आमासँग बस्नुपर्ने आदेश आयो ।’
उनले सत्यतथ्य नबुझी आफू र जेरीको बारेमा सुनेका भरमा समाचारहरु नलेखिदिनसमेत अनुरोध गरेका छन् ।सम्बन्धविच्छेद गरेर निस्किसकेपछि मनमा के कुराहरु आए ? भन्ने प्रश्नमा उनले उत्तर दिए, ‘त्यस्तो केही छैन । मात्र यति भन्न चाहन्छु कि सम्बन्धविच्छेद भइसकेपछि पनि अनावश्यक कुराहरु मिडियामा रुँदै बोल्न जरुरी छैन ।
उहाँहरु कति नाटक गरेर बोलिरहनुभएको छ । मैले हेरिरहेको छु । आज पनि एउटा अन्तर्वार्ता दिनुभएको रहेछ । नहुने कुरा भइसक्यो । अब यो कुरामा डिस्कस गरेर केही फाइदा छैन ।’जेरी र शंकरले हिजो काठमाडौं जिल्ला अदालतमा सम्बन्धविच्छेद गरेका थिए ।
सम्बन्धविच्छेदका लागि जाँदा जेरीले आफ्नो विवाहको सिन्दूरले सिउँदो रंगाएकी थिइन् भने गलामा पोते र हातमा चुरा लगाएकी थिइन् । अबका दिनमा आफ्नो सिउँदो खाली हुने भएकाले अन्तिम पटकका लागि यो श्रृंगार गरेको उनले रुँदै बताइन् ।उनले वैवाहिक जीवन सुरुदेखि नै तिक्ततापूर्ण रहेको खुलासा गरिन् ।
उनले भनेकी छन् – एकदिन हाम्रो दोहोरीमा उहाँले डान्सर केटी लिएर आउनुभयो । उसको हाउभाउ र पारा हेरेपछि मलाई राख्नुहुँदैन भन्ने लागेको थियो । पहिले कसैले स्टाफ ल्याउँदा हामी चारैजना (लगानीकर्ता) को सहमतिविना राख्ने प्रचलन थिएन । तर, त्यो केटीलाई उहाँले राख्नैपर्ने जिद्दी गर्नुभयो ।
त्यसपछि म त विभिन्न प्रोग्राममा बिजी भएँ । यता ध्यान दिन पाइनँ । गोरखामा एक हप्ता दिनवन्धु पोखरेलसँग प्रोग्राममा गएको थिएँ । काठमाडौं आउँदा संसार उल्टिसकेको थियो । अर्कै किसिमको भइसकेको थियो ।मलाई साढे ७ वर्ष उहाँसँग रिलेसनमा हुँदा कहिल्यै एकपटक उपहार दिनुभएको छैन ।
उहाँले बर्थ डे सेलिब्रेट गरेको पनि अस्ति पहिलोपटक हो । तर, त्यो केटीको जन्मदिनमा केक आफैंले ल्याएर रुममा लगेर काट्नुभएछ । अनि त्यो केटीले ‘जेरीसँग डिभोर्स दिएर शंकरले मसँग विहे गर्छ’ भन्दै हिँडेकी रहिछ । मलाई दोहोरीका स्टाफले सबै कुरा सुनाए ।
त्यो केटीसँग नजिक भएपछि उहाँले मलाई थप बेवास्ता र तिरस्कार गर्न थाल्नुभयो । विभिन्न अपशब्द बोलेर गालीगलौज गर्नुहुन्थ्यो । पोहोरको क्रिसमस इभको दिन तपाईंको यस्तो–यस्तो छ भन्ने हल्ला सुनेको छु, के हो कुरा भनेर सोधें । कि त्यो केटीलाई निकाल्नुपर्छ, होइन भने म तपाईंलाई छोड्छु भनें । त्यसपछि झगडा गर्नुभयो । मलाई हात छोड्नुभो ।