सन्दीपलाई फसाउन खोज्नेहरुको लिस्ट बाहिरियो ! को-को हुन् फसाउन खोज्ने ?

समाचार

काठमाडौं । बला-त्कारको अभियोग लगाइएका क्रिकेटर सन्दीप लामिछानेको मंगलबार (हिजो) काठमाडौं जिल्ला अदालतमा बयान लिइएको छ । न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासमा बयान लिइएको हो ।

उनी पक्षका कानुन व्यवसायी अधिवक्ता मुरारी सापकोटाका अनुसार सन्दीपले आफूलाई सिलसिलाबद्ध रूपमा फसाउन खोजिएको बयान अदालतमा दिएका छन् । सन्दीपले प्रहरी, नेपाल क्रिकेट संघ (क्यान)का अधिकारी र अदालतमै आफूलाई नियोजित रूपमा फसाइएको बताएका छन् ।

उनले बयानका क्रममा कसैको नाम लिएका छैनन् । तर, उनले केही राष्ट्रिय टोलीकै क्रिकेट खेलाडी, पूर्वखेलाडी र क्यानकै केही व्यक्तिप्रति संकेत गरेको बताइएको छ । क्यानले ज्ञानेन्द्र मल्ललाई कप्तानबाट हटाएपछि सन्दीपलाई राष्ट्रिय टोलीको नेतृत्व दिइएको थियो ।

त्यसपछि राष्ट्रिय क्रिकेट टोलीका खेलाडीहरू दुई समूहमा विभाजित भएका थिए । त्यो विभाजनको असर विभिन्न अन्तर्राष्ट्रिय खेलमा पनि देखिएको क्यानकै अधिकारीहरू स्वीकार गर्छन् । सन्दीपले जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंमा दिएको बयानमा पनि आफूमाथि बलात्कारको आरोप लगाउनेको कुराले छक्क परेको बताएका छन् ।

सन्दीप र ती किशोरी गएको भदौ ५ गते साँझ नगरकोट पुगेका थिए । नगरकोटबाट फर्कंदै गरेको प्रसंगलाई लिएर सरकारी वकिलको कार्यालयमा दिएको बयानमा उनले भनेका छन्, “उनको ठ्याक्कै होस्टेल कहाँ पर्छ भन्ने थाहा थिएन, त्यसैले काठमाडौंको जडीबुटी कटेपछि मैले होस्टेलको डिटेल सोधी पुर्‍याइदिन्छु भन्दा– कहाँ हुन्छ, यति राति भइसक्यो, होस्टेल बन्द भइसक्यो, होस्टेल खुल्दैन भन्न थालिन् । उनको त्यो कुरा सुनेर म एक छिन छक्क परेँ । अघि तिमीले आफ्नो होस्टेल जति बेला पनि खुल्छ भनेकी होइनौ ? अहिले होस्टेल बन्द भयो भन्छौ भनेँ ।”

सन्दीप र उनलाई आरोप लगाउने किशोरीको चिनजान भने क्रिकेटर देव खनालमार्फत भएको खुलेको छ । देवले जिल्ला सरकारी वकिलको कार्यालयमा दिएको बयानले पनि यसको पुष्टि गर्छ ।

देवले स्न्याप च्याटमार्फत सन्दीपको फोटो र भिडियो ती किशोरीलाई पठाएको बताएका छन् । तर, उनले आफूले ती किशोरीलाई नभेटेको बयान दिएका छन् । सन्दीपले आफूलाई फसाइएको तर्क गरे पनि किशोरीलाई लिएर होटेल जाने कुराले त्यसको खण्डन गर्ने प्रहरी अधिकारीहरूको भनाइ छ ।

एक नाबालिगमाथि बलात्कार गरेको आरोपमा सन्दीपविरुद्ध गएको भदौ २१ गते प्रहरी वृत्त गौशालामा जाहेरी परेको थियो । जाहेरीमा सन्दीपले भदौ ५ गते राति पिंगलास्थानस्थित होटेल काठमाडौं इनमा लगेर दुईपटक बलात्कार गरेको उल्लेख थियो । सोही जाहेरीपछि सन्दीप असोज २० गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *