कलाभन्दा चर्तिकलाको व्यापार: महोत्सवमा पनि भेल्लुबाजेहरूको जगजगी, राष्ट्रिय कलाकार ट्वाँ

मनोरंजन

काठमाडौं। युट्युब, टिकटक र फेसबुकमा भिडिओहरू हेर्नुहुन्छ भने ‘भेल्लुबाजे’लाई चिन्नुभएकै होला। सामाजिक सञ्जालमा धेरै हेरिनेमध्ये एक पात्र हुन् प्युठान जुम्रिकाडाँ घर भएका ६२ वर्षीय मीनबहादुर बुढा, अर्थात् भेल्लुबाजे।

स्थानीय लवज र हक्की स्वभावमा ख्यालठट्टा गर्ने ‘भेल्लुबाजे’को बोल्ने शैलीलाई कतिपय सामाजिक सञ्जाल प्रयोगकर्ताले रुचाउँछन्। दर्शकले मन पराएर लाखौँ भ्युज आउन थालेपछि उनको घरमा युट्युबरको ओइरो लाग्दैआएकाे छ। केही महिनायता भेल्लुबाजेको व्यस्तता कुनै स्टार कलाकारकाेभन्दा कम छैन।

देशभरका युट्युबर भेल्लुबाजेको भिडिओ अन्तर्वार्ता लिन घरमै पुगेनन् भेल्लुबाजेलाई नै काठमाडौंमै ल्याए। केही हाँस्य टेलिफिल्म पनि खेलाए। सार्वजनिक कार्यक्रममा भाइरल कलाकार भन्दै लैजान थाले। सरसफाइ कार्यक्रमदेखि साङ्गीतिक कार्यक्रमसम्म उनलाई दौडाइन थालियो।

ग्रामीण क्षेत्रमा जन्मिएको होला औपचारिक शिक्षा खासै लिन नपाएका उनी सामाजिक आर्थिक, राजनीतिक विषयमा जानकार छैनन्। सञ्चार माध्यममा समाचार तथा जानकारीमूलक कार्यक्रम हेर्न खासै चासो नराख्ने उनका अहिलेसम्मका अन्तरवार्ता हेर्दा प्राय: विषयमा अनभिज्ञ नै छन्।

तर, रोचक कुरा त के भने, युट्युबरहरू उनलाई यस्ता प्रश्न सोध्छन्, मानौँ देशको प्रखर राजनीतिक विश्लेषक, इतिहासविद्, सबै थोक उनै भेल्लुबाजे हुन्। देशमा अहिले दलहरू मिल्न सकेका छैनन्। अब देश कता जान्छ ? देशमा के हुन्छ तपाईं के भन्नुहुन्छ?’

यस्ता प्रश्नको जवाफ भेल्लुबाजेले आफ्नै चलनचल्तीकै स्टाइलमा दिन्छन् ‘‘हट्टेरीका माटोक्नी यी चोरहरू मिल्डै मिल्डैनन् भनेर हामीलाई जानकारीमा छ के। अब त्यसो नगर्न भनेर हाम्ले अनुरोट गरिसक्या छम्।’’आफूलाई पत्रकार नै दाबी गर्ने युट्युबरहरू सामाजिक, आर्थिक स्थिति, देशको भविष्य सोध्न भाइरलम्यान भेल्लुबाजेसम्म पुग्छन्।

योभन्दा ठट्टा के हुन सक्छ ? वाक्यको बीच-बीचमा अपशब्द बोल्ने त भेल्लुबाजेको थेगोजस्तै हो। तरपनि युट्युबरका यस्तै हावादारी प्रश्न र भेल्लुबाजेको जवाफ दिने उनकै स्थानीय लवजले केही दर्शकलाई तानेकै छ।मिडिया भन्दै युट्युब चलाउनेहरूले आफ्नो भ्यूज बढाउनकै लागि कतिसम्म अरूलाई दुरूपयोग गर्न सक्छन् भन्ने भेल्लुबाजे उदाहरण हुन् ।

उनीसँग अन्तरवार्ता लिन युट्युबबर रक्सी लिएर पुग्छन्। किनकि, भेल्लुबाजे बिहानैदेखि ठर्रामा फिटान भएर बसेका हुन्छन्। त्यसपछि उनी अन्तरवार्ता दिन तयार मात्र हुँदैनन्, जे जस्तो बोल्न लगायो उस्तै बोलिदिन्छन्। आफूले भनेजस्तै बोलिदिएपछि युटुयुबरलाई डलर झर्ने नै भयो। रक्सीले मातेपछि भेल्लुबाजेले बोलेका शब्द सुनिसाध्य हुँदैन।

कहिले निजी जीवनका बारेमा त कहिले श्रीमतीका बारेमा प्रश्नहरू सोधिन्छन्। भेल्लुबाजेले जो बोल्दा पनि भाइरल हुन्छ भन्ने अनुभव गरेका युटुयुबरले उनको कमजोर चेतनाको लाभ लुट्नसम्म लुटिरहेका छन्। उनको भिडिओ भाइरल हुन थालेको आठ दश महिना भयो। तर उनले आफ्नो दुरुपयोग भएको भन्ने चेत पाउन सकेका छैनन्।

अझ ठट्टा त कस्तोसम्म भइरहेको छ भने सञ्जालमा छाएका भेल्लुबाजेलाई मेला महोत्सवमा ‘राष्ट्रिय कलाकार’ भन्दै बोलाइन थालिएको छ। युट्युबरहरूले त जानेनन् नै तीनै भेल्लुबाजेलाई ‘हास्य कलाकार, सामाजिक अभियन्ता तथा विश्लेषक’को उपाधि दिँदै सांस्कृतिक कार्यक्रम आयोजकले समेत डाकिरहेका छन्।

भेल्लुबाजेले अहिलेसम्म चार-पाँचवटा सांस्कृतिक कार्यक्रममा स्टेज चढ्ने मौका पाइसकेका छन्। नत उनी बोल्न जान्दछन् त केही गाउन जान्दछन्। उनको गृह जिल्लाकै एक कार्यक्रममा जाँदा भेल्लुबाजे रक्सीले मातेर बेहोसीमा स्टेजमै ढलेको भिडिओ सञ्जालमा भाइरल छ।

रक्सी नखाई धेरै जनाको भीडमा बोल्न नसक्ने उनलाई आयोजकले रक्सी खुवाएर तथानाम बोल्न लागाइरहेका छन्। अझ रमाइलो त केही दिनअघि पशुपति मन्दिर परिसर अगाडिको सरसफाइ कार्यक्रममा उनलाई प्रमुख अतिथि नै बनाइएको थियो।कलाकारले हाम्रा मौलिकता र संस्कृतिलाई बचाउन मद्दत गरेका हुन्छन्।

तर, मेला महोत्सवमा कलाको नाममा ‘भाइरलम्यान’ बोलाएर कला शब्दकै हुर्मत लिन थालिएको छ। यसैगरी, सल्यानमा अहिले भइरहेको दशैं महोत्सवका आयोजकले लाजै त्यागेको देखियो। ‘ढोरचौर दशैँ विशेष सांगीतिक कार्यक्रम’मा उनलाई प्रमुख कलाकार भन्दै निम्त्याइएको छ।

कलाभन्दा स्टेजमा भेल्लुबाजे रक्सीले मातिएर वाक्यविच्छै अपशब्द बोल्छन्। यसअघि युट्युब, फेसबुक र टिकटमा सुन्दै आएका उनको अपशब्द, गालीगलौज अब सार्वजनिक रूपमै सुन्नुपर्ने भयो त्यो पनि चर्चित कलाकारको परिचयबाट।

घरपरिवारसँगै बसेर सामाजिक सञ्जाल चलाएको समयमा मोबाइलको स्क्रिन स्क्रोल गर्दैजाँदा भेल्लुबाजेको भिडिओ आयो भने लाजले मुख छोप्नुको विकल्प छैन। महोत्सव आयोजकले भने तीनै भेल्लुबाजेलाई कार्यक्रममा सगर्व बोलाएका मात्र छैनन्, उनको पोस्टर लोकप्रिय कलाकारको भन्दा ठूलो राखेर प्रचार गरिरहेका छन्।

आयोजकहरूले कलाकार भन्दै ‘भाइरलम्यान’लाई स्थान दिएपछि आफ्नो सम्पूर्ण जीवन सङ्गीत र साधनामा बिताएर जनजनको मनमा बसेका लोकप्रिय कलाकारकै अपमान भएको छ। सबैभन्दा अचम्मलाग्दो कुरा त कार्यक्रमको पोस्टरमा साढे २ दशकभन्दा बढी समय गायन क्षेत्रमा क्रियाशील र लोकप्रिय कलाकार बद्री पंग्रेनीको भन्दा ठूलो फोटो भेल्लुबाजेको राखिएको छ।

भेल्लुबाजेलाई नेपालकै चर्चित कलाकार ठान्ने सल्यानी आयोजकले भने पछिल्लो समय लोकगीत क्षेत्रका चर्चित गायक भागीरथ चलाउनेलाई चिन्न सकेको छैन। प्राय: सांस्कृतिक कार्यक्रममा जिल्लाका कलाकारलाई प्राथमिकता दिइन्छ। किनकि, स्थानीय कला संस्कृतिको प्रवर्द्धन गर्ने मञ्च त्यही कार्यक्रम हो।

त्यति मात्र नभई देशभर लोकप्रिय कलाकार जिल्लाको गौरवको रूपमा लिएर कार्यक्रम आयोजकले उनीहरूलाई पहिलो प्राथमिकता दिन्छन्। ‘भाइरलम्यान’ भेल्लुबाजेलाई बोलाउने आयोजकले सल्यानमै जन्मेर झन्डै डेढदशकअघिदेखि साङ्गीतिक क्षेत्रमा सक्रिय रहेका गायक भागिरथ चलाउनेलाई भने बोलाएको छैन।

भागिरथ यसवर्षको सर्वाधिक लोकप्रिय गीत ‘झमझम झम्काना’का गायक हुन्। चर्चित लोक तथा दोहोरी गायक भागिरथ र गायिका सुनीता बुढा क्षेत्रीको स्वरमा रहेको यो गीत युट्युबमा मात्रै झन्डै २ करोडपटक हेरिएको छ। अफिसियल तथा अनअफिसियल फेसबुक पेजमामा त्यति नै भ्यूज छ।

एक दशकअघि ‘कस्लाई सोध्ने होला’ गीतबाट चर्चामा आएका उनको पछिल्लो ‘तारा खसेको मैले माया लाकै होइन आफैँ बसेको’ बोलको मौलिक लोकदोहोरी गीत युट्युबमा अपलोड गरेको दुई दिनमै झन्डै ६० लाखले हेरेका छन्। सल्यानकै ताराको रूपमा गनिँदै आएका भागिरथको वर्ष दिनअघि सार्वजनिक ‘कि देऊ मलाई विषैको धुलो, कि जोडिदेऊ मसँगै घरबार’ गीत पनि चर्चित बनेको थियो।

यस्तै, सल्यानकै अर्का चर्चित कलाकार नेत्र भण्डारीलाई पनि सो कार्यक्रममा बोलाइएको छैन। ‘‘स्याउ ल्याउँदिउँ कि केरा, सानु तिमीलाई म भेट्न आउँदै छु काँ सरिछेउ डेरा’’लगायत दर्जनौं गीतका चर्चित गायक उनलाई नबोलाइएको कार्यक्रममा सघर्ष गर्दै गरेका सल्यानका नयाँ कलाकारले स्थान पाउने त कुरै भएन।

धन्न आयोजकले लोक तथा दोहोरी गायक कृष्ण रेउलेलाई भने चिनेछन्। उनलाई भने बोलाइएको छ। भेल्लुबाजे भन्दाअघि लाइफ ड्यामेज बाबा अर्थात् ‘अघोरी बाबा’ चर्चामा थिए। सुन्दरीजलमा बस्दै आएका ५३ वर्षीय विजय केसी आफूलाई संन्यासी भन्दै ‘महा मृत्युजन्य अघोर बाबा’ भन्न रुचाउँछन्।

नेताहरूलाई गाली गर्ने र छेउ टुप्पो गफ दिएकै भरमा भाइरल भएका उनी लकडाउन भन्दाअघि खुब सञ्जालमा छाएका थिए। भाइरल बनेपछि उनलाई काभ्रेको बनेपामा भएका केही कन्सर्टमा बोलाइएको थियो। केही कम्पनीले उनलाई ब्रान्ड एम्बेस्डरसमेत बनाएका छन्।

केही समययता भेल्लुबाजेसँगै देखिँदै आएका छन् ‘चाउमिनवाला।’ भिडिओ भाइरल बनाउने उपाय रच्दै एक युटुयुबरले उनलाई सोध्छन् – एक करोड रुपैयाँ भेट्टाउनुभयो भने के गर्नुहुन्छ। उनले जवाफ दिन्छन्, ‘‘पहिला एक हाफ चाउमिन खान्छु।’’ टिकटकमा यही भिडिओ भाइरल भएपछि उनलाई सञ्जाल प्रयोगकर्ताले कालेदाइ चाउमिनवाला भनेर चिन्छन्।

भाइरल भएकै नाममा केही कलाकारले त उनको स्वरमा गीत नै रेकर्ड गरिदिएका छन्। उनलाई केही भिडिओमा भेल्लुबाजेसँगै देख्न पाइन्छ। केही सांगीतिक कार्यक्रममा ‘चाउमिनवाला’ लाई पनि देख्न थालिएको छ। सामाजिक सञ्जाल फेसबुक र टिकटकमा म्यादी प्रहरीको युनिफर्म दुरुपयोग गरेर भिडिओ बनाएपछि पक्राउ परेका थिए कपिलवस्तु वाणगंगाका १८ वर्षीय नवराज रेग्मी।

उनी केहीदिन हिरासतमा बसेर निस्कँदासम्म ‘मिदीभाइ’ को नाममा सञ्जालमा भाइरल बनिसकेका थिए। अहिले उनी पनि सार्वजनिक कार्यक्रममा देखिन थालेका छन्। केही दिनअघि भएको एक सरसफाई कार्यक्रममा भेल्लुबाजेसँगै मिदी भाइ पनि अतिथि थिए।

पछिल्लो समय मेला महोत्सवदेखि सार्वजनिक कार्यक्रममा शालीन र बौद्धिक कलाकारभन्दा छाडा उच्छृङ्खलताबाट भाइरल भएकाको माग बढेपछि रंगपत्रकार प्रकाश सुवेदीले आफ्नो कार्यक्रममा व्यङ्ग्य कसेका छन्, ‘‘पहिला पहिला मिस नेपालको नाम सोधे भने जो कोहीले पनि सजिलै भन्दिन्थे।

तर, अहिले बरु यी भेल्लुबाजेलाई सबैले चिन्छन्। हेर बिजोग मिस नेपालको।’’सिर्जना, स्वर र सङ्गीतको महत्त्व नहुने भएपछि सङ्गीतमा साधना गर्दै भविष्य खोजिरहेकाहरू पछि पर्ने प्रसिद्ध लोकगायक नारायण रायमाझीलाई चिन्ता छ। उटपट्याङ काम गरेर चर्चामा आउनेहरूले मेला महोत्सवमा स्थान पाउनुले सिङ्गो कला क्षेत्रकै अपमान मात्रै नभएर प्रतिभावान् कलाकार पर्ने रायमाझी बताउँछन्।

उनी भन्छन्, ‘‘यस्ता प्रवृत्ति बढ्दै गएमा कसरी राम्रो सिर्जना गर्नेभन्दा पनि कसरी धेरैलाई हेराउने भन्ने प्रतिस्पर्धा नयाँ पुस्ताका गायकमाझ बढ्छ। यो समस्या बुढी मरी भन्ने होइन। काल पल्कियो भन्ने हो। यस्तो अवस्था जारी रहेमा राम्रा भन्दा उटपट्याङ काम गरेर भाइरल हुनेको होड हुनेछ। संस्कृति जोगाउन सक्दैनौँ। यसैले क्षणिक भाइरलभन्दा पनि राम्रो सिर्जना र सर्जकलाई स्थान दिनुपर्छ।’’नेपाल भ्युज

Leave a Reply

Your email address will not be published. Required fields are marked *