सन्दीप लामिछानेले दशैँको भोलिपल्ट आत्मसमर्पण गर्ने

समाचार

काठमाडौँ । चर्चित क्रिकेटर सन्दीप लामिछानेले दशैँ टीकाको भोलिपल्ट अर्थात् यही असोज २० गते (अक्टोबर ६) का दिन नेपाल फर्केर प्रहरीसामु आत्मसपर्पण गर्ने बताएका छन् । नाबालिकामाथि बलात्कारको आरोप खेपिरहेका लामिछाने केही समयदेखि विदेशमा छन् ।

उनीविरुद्ध प्रहरीले पक्राउ पूर्जी काटिसकेको अवस्थामा उनी आफैले प्रहरीमा आत्मसमर्पण गर्ने बताएका हुन । आफ्नो फेसबुकमार्फत उनले सो कुराको जानकारी दिएका छन् ।

‘ठूलो आशा र शक्तिका साथ म यही अक्टोबर ६ मा मेरो देश नेपाल फर्कँदैछु,’ उनले भनेका छन्, ‘ममाथि लागेको झुटो आरोपका विरुद्ध म कानुनी लडाइँ लड्नका लागि अख्तियारप्राप्त अधिकारीसमक्ष आत्मसमर्पण गर्नेछु ।’

उनले आफू निर्दोष छु र न्याय प्रणालीप्रति आफूले सफाइ पाउनेमा पूर्ण विश्वास रहेको समेत बताएका छन् । ‘सबै कानून प्रवर्तन निकायहरू र सम्मानित अदालतहरू तथा तिनीहरूको निष्पक्ष सुनवाई र निर्णयप्रति म दृढ विश्वास गर्दछु । र, म छिटो भन्दा छिटो न्याय पाउनेमा आशावादी छु,’ उनले भनेका छन् ।

क्रिकेट खेलका दौरान उनी विदेश गएको बेला एक नाबालिकाले उनीविरुद्ध जबरजस्ती करणीको मुद्दा दायर गरेकी थिइन् । त्यसपछि विदेशमै लुकीछिपी बसेका लामिछानेले केही समय कानुनी परामर्श लिएर कानुनी रुपमै यो लडाइ लड्नका लागि नेपाल फर्किन लागेको बताएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *